रेखीराम राना
तानसेन, पुस २१ गते । कर्मचारी अभावमा जिल्लास्थित भूमि आयोगको काम सुस्त बनेको छ । आयोगका लागि आवश्यक कर्मचारी नहुँदा भूमिहीन सुकुम्बासीको समस्या समाधानमा अवरोध सिर्जना भएको आयोगका पदाधिकारीहरूले गुनासो गरेका छन् ।
आयोगको काम अगाडि बढाउन १० जना प्राविधिक तथा अन्य प्रशासनिक कर्मचारी आवश्यक भए पनि हाल एक जना मात्र कर्मचारी रहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले जनाएको छ । जिल्लाभरिबाट भूमिहीन सुकुकम्बासीबाट आएका निवेदनको टुङ्गो लगाउन आयोगले छिटो काम गर्न खोजेपनि कर्मचारी अभावमा काममा अवरोध सिर्जना भएको जिल्ला अध्यक्ष मोहनलाल गैरेले बताउनुभयो ।
जग्गा, नापजाँच गर्न, फिल्डबुक तयार गर्न, स्रेस्ता कायम गर्न आवश्यक कर्मचारीको व्यवस्था हुन नसक्दा काममा ढिलासुस्ती भएको गैरेले बताउनुभयो । वि.स. २०७९ चैत महिनामा नियुक्त भएपछि आयोगका पदाधिकारीहरूले २० महिनाको अवधिमा रामपुर नगरपालिकाभित्र ७६३ वटा लालपुर्जा वितरण गरेर सकेको छ । रामपुरमा नयाँ समितिआउनुभन्दा अघि पनि जग्गा नापजाँच तथा फिल्डबुक तयार गर्ने काम भइसकेको थियो ।
२० महिनाको अवधिमा रामपुर नगरपालिकामा बाहेक अन्य कुनै पनि पालिकाका भूमिहीन, सुकुम्बासी तथा विपन्न दलित समुदायलाई लालपुर्जा वितरण हुन सकेको छैन । हाल जिल्लाभरिबाट आठ हजार पाँच सय सुकुम्बासी, भूमिहीनले पुर्जाका लागि निवेदन दिएका छन् । तर कर्मचारी अभावमा भूमिहीनको निवेदन लिनेबाहेक अन्य काम खासै अगाडि बढाउन नसकेको आयोगका सदस्य हरिता थापामगरले बताउनुभयो ।
पछिल्लो समय तानसेन–२, ३, ४, ६ र ९ वडाका भूमिहीन सुकुम्बासीका एक हजार ७२४ वटा निवेदन सङ्कलन भएको छ । ती निवेदनमाथि जाँचबुझ गरेर नक्सा र फिल्डबुक तयार पार्ने काम भइरहेको आयोगले जनाएको छ । यद्यपी कर्मचारी नहुँदा तानसेनका भूमिहीन सुकुम्बासीको हातमा कहिले लालपुर्जा हात पर्छ भन्ने यकिन हुन नसकेको थापामगरले बताउनुभयो । कर्मचारी भएको खण्डमा एक वर्षभित्रै सबै निवेदनमाथि कारबाही अगाडि बढाउन सकिने भए पनि कर्मचारी तथा पालिकाको ढिलासुस्तीले गर्दा आयोगको कामले गति लिन नसकेको उहाँले उल्लेख गर्नुभयो ।