• १४ असार २०८१, शुक्रबार

गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान

blog

संयुक्त राष्ट्रसङ्घ, पुस २१ गते । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गर्नुभएको छ ।

अक्टोबर ७ मा प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास)ले इजरायलको दक्षिणी सिमानामा गरेको भयानक आक्रमणको तीन महिनासम्म पनि गाजा मृत्यु र निराशाको थलो बनेको उहाँले शुक्रबार बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हामी गाजाका जनता र यसका खतरामा परेका छिमेकीहरूका लागि मात्र होइन, तर भावी पुस्ताका लागि पनि युद्धको तत्काल अन्त्यको माग गर्दछौँ । युद्धले यी ९० दिनको कहालिलाग्दो हिंसा र मानवतासम्बन्धी सबैभन्दा आधारभूत नियमहरूमाथिको आक्रमणलाई कहिल्यै बिर्सने छैनन् ।”

“यो समय युद्धरत पक्षहरूले नागरिकहरूको सुरक्षा र आधारभूत आवश्यकताहरू पूरा गर्न र सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर्ने अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्ना सबै दायित्वहरू पूरा गर्ने समय हो,” उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय समुदायले आफ्नो सम्पूर्ण प्रभाव प्रयोग गरेर युद्धरत पक्षलाई युद्धविराम गर्नका लागि दबाब दिने बेला आएको छ ।

युद्धभएको करिब तीन महिना बितिसक्दा पनि गाजाको मानवीय अवस्था दयनीय छ । अधिकांश महिला र बालबालिकाहरूसहित करिब २३ हजार मानिस मारिएका छन्, दशौँ हजार व्यक्ति घाइते भएका छन् भने लाखौँ व्यक्ति युद्धका कारण विस्थापित र प्रभावित भएका छन् ।

तापक्रम घटेसँगै विस्थापित परिवारहरू खुला ठाउँमा सुतिरहेका छन् । सर्वसाधारणलाई आफ्नो सुरक्षाका लागि अन्यत्र सार्न भनिएको क्षेत्रमा बमबारी भएको छ । चिकित्सा संस्थाहरू निरन्तर आक्रमणमा परेका छन् ।

आंशिक रूपमा सञ्चालनमा रहेका केही अस्पतालहरू ट्रमाका बिरामीहरूले भरिएका छन्, सबै आपूर्तिहरूको गम्भीर अभाव छ, र सुरक्षाको खोजीमा मानिसहरू हताश बनेका छन् । जनस्वास्थ्यमा विपत्ति आइपरेको छ । भिडभाड हुने आश्रयस्थलहरूमा ढलहरू बग्दै जाँदा सङ्क्रामक रोगहरू फैलिरहेका छन् । यो अस्तव्यस्तताका बिच दैनिक करिब १८० प्यालेस्टिनी महिलाले बच्चा जन्माइरहेका छन् ।

मानिसहरूले अहिलेसम्मकै उच्च स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् । भोकमरीको जोखिम नजिकिएको छ । विशेष गरी बच्चाहरूको लागि, विगत १२ हप्ताहरू निकै दर्दनाक बनेका छन् । उनीहरूका लागि कुनै खाना छैन । पानी छैन । विद्यालय छैन ।

उहाँले भन्नुभयो, “युद्धको डरलाग्दो आवाजबाहेक दिनदिनै अरू केही सुनिँदैन”, ग्रिफिथ्सले भन्नुभयो, “त्यहाँका मानिसहरूले आफ्नो अस्तित्वका लागि दिनहुँ खतराहरू देखिरहेका छन् र संसारले हेरिरहेको छ ।” रासस/एएफपी