• १२ असोज २०८१, शनिबार

सामुदायिक विद्यालयमा ट्राफिक क्लब गठन

blog

फाइल तस्बिर

काठमाडौँ, पुस २१ गतेकाठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ ।  

प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनौटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिन थालिएको महानगरपालिकाले जनाएको छ । यसअघि पद्मकन्या विद्यायलले ट्राफिक क्लब गठन गरिसकेको छ । 

महानगरले अन्य विद्यालयमा पनि सो कार्यक्रम विस्तार गरिरहेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो । सल्लाहकार श्रेष्ठका अनुसार छनौटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने मुख्य समय -बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म_ उक्त तालिम प्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्ने छन् । 

श्रेष्ठले भन्नुभयो, “उक्त समयमा विद्यार्थी नै ट्राफिकको पोसाकमा ट्राफिककै काममा खटिने छन्, जसले गर्दा विद्यालय क्षेत्रमा हुने सडक दुर्घटना कम गर्न मद्दत गर्ने छ ।” सहयोगका लागि खटिएका विद्यार्थीले तोकिएको समयभित्र ट्राफिकको भूमिका निर्वाह गर्ने छन् । विद्यार्थीले ट्राफिक लाइट प्रयोग गर्ने, ट्राफिक कोन, सेफ्टी ज्याकेट, प्याटन लाइटसहित जान र आउनका लागि संकेत गरेर अन्यलाई सहयोग गर्ने छन् । 

उक्त कार्यक्रम कामपामा सञ्चालनमा रहेका ८९ वटै सामुदायिक विद्यालयमा सञ्चालन गर्ने भनिए पनि पूर्वप्राथमिक विद्यालयमा साना बालबालिकालाई यस किसिमको कार्यक्रममा सहभागी गराउन नसक्ने जनाइएको छ । त्यसका लागि कामपाले पहिलो चरणमा ४० विद्यालयमलाई छनौट गरेको छ ।

उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा महानगरले २० लाख विनियोजन गरेको छ । यसैबीच कामपाले विद्यालय अगाडि ३६ स्थानमा सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारीसमेत गरेको छ । यसअघि बबरमहलमा सो प्रणाली जडान गरिसकेको कामपाले अब २६ सामुदायिक विद्यालय र १० निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न  लागेको श्रेष्ठले जानकारी दिनुभयो । 

यस वर्ष ३६ विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकता हेरी दुर्घटनाको जोखिम रहेका विद्यालयमा सो व्यवस्थ गरिने छ । हाल कामपामा ८९ सामुदायिक र पाँच सय चार निजी विद्यालय सञ्चालित छन् । रासस