• १२ साउन २०८१, शनिबार

मुद्दती निक्षेपमा दुई अर्ब चवालिस करोड लगानी

blog

काठमाडौँ, पुस २१ गते । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कमा एक अर्ब ९५ करोड २० लाख, विकास बैङ्कमा ३६ करोड ३० लाख र फाइनान्स कम्पनीमा १२ करोड २० लाख रुपियाँ गरी कुल दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्न लागेको छ ।

राष्ट्र बैङ्कले २०८० माघ ५ गतेदेखि २०८१ माघ ५ गतेसम्म ३६६ दिनका लागि बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दतीमा उक्त रकम राख्न लागेको हो । 

मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको, न्यूनतम पुँजीकोष अनुपात कायम रहेकोलगायतका सर्त पुगेका बैङ्क तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतीमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सकिने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ । 

निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने तथा तोकिएको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने सर्त राष्ट्र बैङ्कले राखेको छ ।

यस्तै मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने सर्त छ । 

कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता सर्तहरू राष्ट्र बैङ्कले राखेको छ ।