मकवानपुर समाचारदाता
मकवानपुर, वैशाख २८ गते । बागमती प्रदेश सरकारले बजेट तथा कार्यक्रम तर्जुमाका लागि आयोजना तथा कार्यक्रम छनोटमा नयाँ व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी थालेको आर्थिक मामिला तथा योजना मन्त्रालय आयोजनाको बजेटको सीमा निर्धारणसँगै आयोजना छनोट जिल्लाबाट सिफारिस गर्नुपर्ने व्यवस्था गरेको हो ।
मन्त्रालयले बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव तथा छनोटसम्बन्धी निर्देशिका, २०८३ जारी गर्दै जिल्लास्तरीय आयोजना प्रस्ताव छनोट सिफारिस समिति गठन गर्ने र समितिले सिफारिस गर्ने व्यवस्था गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सरकारको जिल्लास्थित कार्यालयबाट सूचना प्रकाशित गरी प्रस्ताव परेका, प्रदेश सभाका सदस्यले आवश्यक ठानेका र स्थानीय तहको स्रोतबाट सम्पन्न हुन नसक्ने आयोजना विषयगत मन्त्रालयमा सिफारिस गर्न प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्वमा आयोजना छनोट सिफारिस समिति बनाउने गरी निर्देशिका बनाइएको बताउनुभयो ।
समितिमा सम्बन्धित निर्वाचन क्षेत्रको नेतृत्व गर्ने प्रदेश सभामा समानुपातिकतर्फका सदस्य सहसंयोजक, स्थानीय तहका प्रमुख/उपपप्रमुख वा प्रमुखले तोकेको निर्वाचित जनप्रतिनिधि, प्रदेश सरकारको योजना कार्यान्वयन गर्ने विषयगत कार्यालय/निकायका कार्यालय प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ । समितिबाट छनोट गरिएका आयोजना सम्बन्धित विषयगत मन्त्रालयमा सिफारिस गरिने छ ।
मन्त्री तामाङले कार्यक्रम प्रस्ताव गर्दा आवधिक योजना र क्षेत्रगत नीति तथा योजनाका आधारमा आगामी तीन वर्षमा हुने खर्चको प्रक्षेपणसहितको मन्त्रालय/निकायगत मध्यकालीन खर्च संरचनासमेत पेस गर्नुपर्ने बताउनुभयो ।
पेस भएका आयोजनाको छलफल, अन्तव्रिर्mया र विश्लेषण गरी उपयुक्त आयोजना छनोट गरिने र छनोटका क्रममा भौगोलिक क्षेत्र, जिल्लागत तथा स्थानीय तहगत सन्तुलन मिलाउने र दोहोरो नपर्ने सुनिश्चित गरिने छ ।