• ३० वैशाख २०८१, आइतबार

गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

blog

काठमाडौँ, पुस २१ गते  । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्ने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गरेको हो । यसअघि नेपालमा लगानी ल्याउन न्यूनतम सीमा दुई करोड रुपियाँ निर्धारण गरेको थियो । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा लगानी गर्न सीमा नलाग्ने व्यवस्थाले सानो सानो लगानी भित्र्याउन सहज हुने बताइएको छ । 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी गत वर्ष कात्तिक २८ मा सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोडमा झारेको थियो । न्यूनतम लगानीको सीमा पाँच करोड रुपियाँ राख्दा साना लगानीकर्तालाई नेपालमा लगानी गर्न कठिन हुन थालेपछि लगानीको सीमा कम गरिएको थियो । लगानीको सीमा घटाएसँगै नेपालमा विदेशी लगानी बढ्दै गएको हो । सरकारले नीतिगत र प्रशासनिक सुधार गरेसँगै चालु आवमा विदेशी लगानीमा सुधार आएको तथ्याङ्कले देखाएको छ  । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्म तीन अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । गत आर्थिक वर्षको सो अवधिमा ४३ करोड रुपियाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो । मुलुकमा आर्थिक गतिविधि लयमा आउन थालेपछि विदेशी लगानीमा सुधार हुँदै आएको बताइएको छ ।