• ३० वैशाख २०८१, आइतबार

रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक

blog

काठमाडौँ, पुस २१ गते । सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा तत्कालका लागि रोक लगाएको छ । वैदेशिक रोजगार विभागले रुस–युक्रेनबिच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन रोक लगाएको हो ।

विभागले सूचना सार्वजनिक गरेर यी देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ । पछिल्लो समय रुस–युक्रेनबिचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीको ज्यान गएको खबर आइरहेको छ । 

विभागका अनुसार रुसी फौजमा भर्ना भएका १० जना नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ । ती देशमा एक सय नेपाली नागरिक सम्पर्कविहीन रहेका परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी गराएको छ ।  विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रुसमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर ३८६ जना नेपाली त्यहाँ पुगेको देखिन्छ । 

पछिल्लो वर्ष युक्रेनमा भने संस्थागत रूपमा श्रम स्वीकृति लिएर जानेको सङ्ख्या देखिँदैन । पछिल्लो पटक युक्रेननमा केही नेपाली रहेको तथ्य भेटिएकाले सिधै युक्रेनका लागि श्रम लिएर नगए पनि अर्को देशलाई ट्रान्जिट बनाएर युक्रेनमा पुगेको हुन सक्ने विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।