काठमाडौँ, पुस २१ गते । पशुपतिनाथ मन्दिर परिसर, आर्यघाट र सन्ध्या आरतीमा फोटो र भिडियो खिच्ने विषयमा प्रकाशित सूचनाको चौतर्फी आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रस्टीकरण दिएको छ । निजी कम्पनीलाई मन्दिर परिसरबाहिरको फोटो र भिडियो खिच्ने जिम्मा दिने कोषको निर्णय र ठेक्कामा भएको सम्झौता अधिकारभन्दा बाहिर गएर उक्त कम्पनीले सूचना जारी गरेपछि तीव्र आलोचना भएको हो । कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले विज्ञप्तिमार्फत सूचना प्रकाशित गरेको विषयमा कोषको संलग्नता नरहेको दाबी गर्नुभएको हो । उहाँले बुढासुब्बा डिजिटल प्रालिले सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको बताउनुभयो ।
बुढासुब्बा डिजिटलले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही छ भन्दै सूचनापाटी राखेको थियो । साथै उक्त कम्पनीले त्यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने चेतावनी पनि दिएको थियो ।
पशुपतिनाथ मन्दिर सार्वजनिकस्थल भएकाले जसले पनि फोटो भिडियो लिन पाउँछ तर कोषबाट एक लाख ६० हजार रुपियाँमा वार्षिक रूपमा बुझाउने सर्तमा फोटो र भिडियोको ठेक्का पाएको बुढासुब्बा डिजिटलले सर्वाधिकार भएको दाबीसहित सूचनापाटी राखेको हो ।
कोषका प्रशासन प्रमुख रेवतीरमण अधिकारीले भक्तजनलाई फोटो र भिडियो खिच्न रोक नलगाइएको दाबी गर्नुभयो । उहाँले मन्दिरभित्रै भिडियो र फोटो खिचेको सार्वजनिक भएपछि त्यसलाई नियमन र नियन्त्रण गर्न मात्रै ठेक्का दिएको भन्दै बचाउ गर्नुभयो ।
उहाँका अनुसार बुढासुब्बा डिजिटलले आरतीमा भक्तजनसँग शुल्क लिएर फोटो भिडियो खिच्ने, व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने भए पनि त्यसमा कोषले निर्धारण गरेको शुल्क लिने छ । “पशुपतिनाथ मन्दिर परिसरबाट बाहिर आएर श्रद्धालु भक्तजनले फोटो र भिडियो खिच्न पाउनुहुन्छ । त्यसमा कुनै रोक छैन । मन्दिर र मन्दिर परिसरभित्र फोटो र भिडियो खिच्न पहिलेदेखि नै निषेध छ । कोषले निषेधित क्षेत्रमा फोटो भिडियो खिच्नेमाथि नियमन र नियन्त्रण गर्न मात्रै बुढासुब्बालाई अनुमति दिएको हो । सर्वाधिकार दिइएको होइन”, उहाँले भन्नुभयो । उहाँका अनुसार परिसर बाहिर व्यावसायिक प्रयोजनकै लागि भक्तजनसँग शुल्क लिएर फोटो र भिडियो खिच्ने प्रचलन पनि छ । त्यसलाई व्यवस्थित र नियमन गर्न मात्रै बुढासुब्बालाई ठेक्का लिइएको हो ।