• २६ वैशाख २०८१, बुधबार

काठमाडौँ-तराई द्रुतमार्गको निर्माण सुस्त, प्रगति २९ प्रतिशतमै सीमित

blog

काठमाडौं-तराई-मधेस द्रुतमार्ग अन्तर्गत मकवानपुरको बकैयास्थित प्याकेज नं. २ निर्माणाधीन धेद्रे सुरुङ मार्ग । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, पुस २० गते । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेश द्रुतमार्गको प्रगति सुस्त छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको असोज मसान्तसम्मको भौतिक प्रगति २९ दशमलव १४ प्रतिशत रहेको नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो । 

काठमाडौँ-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको मोविलाइजेसन सहित वित्तीय प्रगति भने २९.३२ प्रतिशत छ । उहाँले आयोजनाको समष्टिगत कार्य योजना मुताविकका ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरूमध्ये १ देखि ७ नम्बरसम्मका प्याकेजहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।

त्यस्तै, द्रुत मार्गको सिस्नेरी तथा मख्खुबेंसी खण्ड अन्तर्गत पर्ने प्याकेज नम्बर ८ क, ९ क र ९ खको द्रुतमार्गको मख्खुबेंसी तथा सिस्नेरी खण्डको प्याकेज नम्बर ८ क, ९ क र ९ खको २०८०, भदौ १३ गते बोलपत्र खोलुवा भई मूल्याङ्कन भइरहेको जनाइएको छ ।

त्यसैगरी, द्रुत मार्गको मख्खुबेंसी तथा मकवानपुरको भीमफेदीस्थित महादेवटार खण्डमा पर्ने प्याकेज नम्बर ८ ख र १० को २०८० भदौ १ गते बोलपत्र आह्वान भएको छ । आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ । आयोजनाको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात् खरिद प्रक्रिया सुरु गर्नेगरी तयारी अवस्थामा रहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । 

हालसम्म निर्माणाधीन तीन वटा सुरूङ्गमार्गहरूको जम्मा लम्बाइ ६.४१५ किलोमिटरमध्ये ३०५० मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । अर्थात् ४७.५५ प्रतिशत सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । जसअनुसार सुरुङ मार्गको प्याकेज नं. १ अन्तर्गत महादेवटार सुरुङकोजम्मा लम्बाई ३३५५ मिटरमध्ये हालसम्म १४७० मिटर, प्याकेज नं. २ अन्तर्गत धेद्रे सुरुङ मार्गको जम्मा लम्बाइ १६३० मिटरमध्ये हालसम्म ७६५ मिटर र प्याकेज नं. ३ अन्तर्गत लेनडाँडा सुरुङको जम्मा लम्बाई १,४३० मिटरमध्ये हालसम्म ८१५ मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । 

आयोजना अन्तर्गत रहेका जम्मा ८९ वटा पुलहरूमध्ये प्याकेज नं. १ देखि ७ सम्मका ६२ वटा पुल निर्माणाधीन अवस्थामा छ । हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका ६२ वटा पुलहरूको डिजाइन सम्पन्न भइसकेका १ हजार ७ सय ६८ वटा पाइलहरूमध्ये १ हजार १ सय २० वटा पाइलको निर्माण कार्य सम्पन्न भइसकेको छ । हालसम्म ३ वटा पुलको सुपरस्ट्रक्चरको कार्य समेत सम्पन्न भएको छ । 

आयोजना निर्माणका लागि जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने र जसमध्ये सरकारी जग्गा १० हजार २ सय ४४ तथा व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी छ । व्यक्तिगत जग्गामध्ये हालसम्म ४ हजार ७ सय ६६ रोपनी जग्गा अधिग्रहण भइरहेको र ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । 

यस्तै, कटान गरिएका रूखको बदलामा १ अनुपात २५ का दरले ७ लाख १६ हजार १ सय ५० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा ५३७ हेक्टरमा ६ लाख ६५ हजार ५ सय ३८ बिरुवा रोपिएको छ । स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिम कटान गर्नुपर्ने ३८ हजार ६ सय ६४ वटा रूखमध्ये हालसम्म २८ हजार ६ सय ४६ वटा रूख कटान भएको र बाँकी १० हजार १८ वटा रूख कटान गर्ने प्रक्रियामा रहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौँ-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । 

२०७४ साउनमा चार वर्षभित्र काम सक्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । २०८०-८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यो पुरा नहुने अवस्थामा पुगेपछि २०८३ सालसम्मको म्याद थपिएको हो । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिएपनि अहिले लागत बढेर २ खर्ब १३ अर्ब पुगेको छ । आयोजनाको भौतिक प्रगति भने २९ प्रतिशतमा सीमित छ । 

चीनका ६ वटा फरक-फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ । द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौँसम्मको ढुवानी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।