• १३ मंसिर २०८१, बिहिबार

आम्दानीको मुख्य स्रोत जुनार र सुन्तला

blog

रामेछाप समाचारदाता 

रामेछाप, पुस २० गते । रामेछापको रामेछाप नगरपालिका–६, ओख्रेनीका शेरबहादुर तामाङले आफ्नो १४ रोपनी बारीमा जुनार र सुन्तलाको खेती गर्नुभएको छ । अहिले तामाङको बगानमा फलेका जुनार र सुन्तलाका दानाले जो कोहीको मन लोभ्याउँछ ।

विसं २०५५ बाट कृषिकर्ममा लाग्नुभएका तामाङ पछिल्लो समय राम्रो आम्दानी हुन थालेपछि अहिले विशुद्ध जुनार तथा सुन्तला खेती र त्यसकै नर्सरीमा लाग्नुभएको छ । 

यसअघि तामाङले तरकारी खेती पनि गर्नुभएको थियो । अहिले रामेछाप नगरपालिका–६, ओख्रेनीका जुनार र सुन्तला कृषकले राम्रो आम्दानी गरिरहेको तामाङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय यहाँका किसानले जुनार र सुन्तलाबाट राम्रो कमाइ गरिरहेका छन् । मैले पनि गत वर्ष साढे तीन लाख रुपियाँको जुनार र सुन्तला बिक्री गरेको थिएँ । यो वर्ष चाहिँ चार लाख रुपियाँमा एकमुस्ट बिक्री भइसकेको छ ।”

रामेछाप नगरपालिका–६, ओख्रेनीका अर्का जुनार कृषक हिरालाल तामाङले पनि जुनार र सुन्तला खेतीबाट वार्षिक चार लाख रुपियाँभन्दा बढी आम्दानी गरिरहनुभएको छ । 

लामो समय छिमेकी देश भारतमा सवारीचालकको काम गरेर फर्कनुभएका तामाङ अहिले रामेछापका सफल कृषक बन्नुभएको छ । घरपरिवारसँगै बसेर जुनार र सुन्तला खेतीबाट वार्षिक चार लाख रुपियाँभन्दा बढी आम्दानी भइरहेको तामाङ बताउनुहुन्छ । “पहिले ड्राइभिङ पेसाले घरखर्च मात्र जेनतेन चल्थ्यो, अहिले आफ्नै गाउँघरमा जुनार खेतीबाट राम्रो आम्दानी भइरहेको छ । गत वर्ष साढे तीन लाख रुपियाँको जुनार र सुन्तला बिक्री भएकामा यो वर्ष पनि तीन/चार लाख रुपियाँको व्यापार हुनेमा विश्वस्त छु,” उहाँले भन्नुभयो ।

अहिले रामेछाप नगरपालिका–६, ओख्रेनीका धेरै घरपरिवारको मुख्य आम्दानीको स्रोत जुनार र सुन्तला बनेको छ । अन्य खेतीमा भन्दा जुनार खेतीमा राम्रो आम्दानी हुन थालेपछि यहाँका स्थानीय जुनार खेतीमा थप आकर्षित भएका छन् । रोग किराका कारण केही वर्ष निराश भएका यहाँका जुनार कृषक रोग किरा नियन्त्रणमा आएपछि अहिले फेरि जुनार उत्पादनमा सक्रिय रूपमा लागेका छन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रामेछापले ओख्रेनीलाई जुनार जोन बनाएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । 

परियोजनाले ५० प्रतिशत अनुदानमा जुनार कृषकलाई आधुनिक कृषि औजार, कीटनाशक औषधीलगायत अन्य प्राविधिक सहयोग गर्दै आएको छ । रामेछापमा परियोजनाले आफ्नो थप कार्य क्षेत्र विस्तार, कृषि प्रविधि विस्तार र कृषि बिमा गर्ने योजना विस्तार गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, रामेछापका प्रमुख थिरलाल गैरेले बताउनुभयो । 

उहाँले भन्नुभयो, “परियोजनाको आवश्यक सहयोगले जिल्लामा जुनार र सुन्तलाको उत्पादन बढेको छ ।