मेलम्ची (सिन्धुपाल्चोक), पुस २० गते । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पुस अन्तिमदेखि काठमाडौँमा वितरण गर्ने उद्देश्यसाथ सुरुङ सफाइ र मर्मत तीव्र पारिएको छ ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार २०७८ को भीषण बाढीले पुरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट बालुवा, माटो र ढुङ्गा हटाउने कार्य ७० प्रतिशत पूरा भएको छ । उहाँले बाँकी काम बढीमा १० दिनमा सम्पन्न हुने र पानी पथान्तरण सुरु हुने बताउनुभयो ।
आयोजना कामको प्रगतिबारे निरीक्षणका लागि बुधबार मेलम्ची आउनुभएका सचिव आचार्यले सबैभन्दा कठिन काम सुरु भएको बताउनुभयो । “वैकल्पिक रूपमा काठमाडौँमा पानी वितरण गर्ने गरी काम अघि बढाएका छौँ । हाम्रो लक्ष्य पुस अन्तिमदेखि माघेसङ्क्रान्तिभित्र काठमाडौँमा मेलम्ची आयोजनाको पानी वितरण गर्ने हो,” उहाँले भन्नुभयो । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथानको टनेलको ग्राउटिङ तथा मर्मत सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार पानी पठाउने प्रमुख मार्ग गेट नम्बर ३८ को ढोका मर्मत तथा त्यहाँ भरिएको बालुवा, माटो र ढुङ्गा निकालेर सफाइ गरिँदै छ । उहाँले दिनमा दुई चरणमा २० जना श्रमिकले काम गरिरहेको बताउनुभयो । “गेट नम्बर ९ मा काम हुँदै छ । सुरुङमा बालुवा भरिएको छ । त्यही वैकल्पिक सुरुङबाट बालुवा माटो निकाल्ने काम हुँदै छ,” उहाँले भन्नुभयो । उहाँले बालुवा निकाल्ने काम सकिएपछि गेट नम्बर ९ बन्द गरेर गेट नम्बर ३८ खुल्ने अनि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रतर्फ पानी पठाउने जानकारी दिनुभयो ।
अल्पकालीन र दीर्घकालीन योजना
खानेपानी मन्त्रालयका सचिव आचार्यले मेलम्ची खानेपानी आयोजनालाई नवीन संरचनात्मक ढाँचामा अघि बढाउने लक्ष्य अनुसार काम आरम्भ गरिएको बताउनुभयो । उहाँका अनुसार मेलम्ची आयोजनाको अहिले रहेको हेडबक्सलाई यथावत् राखेर हेलम्बु–१ सर्कसथलीबाट पानी ल्याउने गरी संरचना निर्माण गरिने छ । “यहाँबाट नौ सय मिटरको सुरुङ निर्माण गर्ने । २५ मिटर अग्लो इन्टेक (टावर) बनाउने र हेडबक्सकै कुनै ठाउँमा लगेर जोड्ने गरी अध्ययन भएको छ । अब सरोकारवालासँग समन्वय र छलफल गरेर काम अघि बढाउँछौँ,” उहाँले भन्नुभयो । सचिव आचार्यले मेलम्चीसँगै याङ्ग्री र लार्केबाट पनि पानी थपेर काठमाडौँमा बाह्रै महिना पानी ल्याउने गरी काम अघि बढाउने लक्ष्य रहेको बताउनुभयो । “मेलम्ची क्षेत्रको विकासका लागि र काठमाडौँमा सहज रूपमा पानी उपलब्ध गराउने परियोजना हो । त्यसैले भएका संरचना व्यवस्थित गर्दै बृहत्तर अवधारणासाथ काम अघि बढाउन हामी दृढ छौँ,” उहाँले भन्नुभयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले काठमाडौँलाई पानीको सङ्कटबाट मुक्त गराउन विस्तृत अवधारणा र दीर्घकालीन लक्ष्यसाथ काम गर्नुपर्ने बताउनुभयो ।