• २२ वैशाख २०८१, शनिबार

बर्सिन घाँसखेतीले किसानलाई सहज

blog

बर्सिन घाँस । फाइल तस्बिर

देउखुरी (दाङ), पुस १९ गते । घोराही उपमहानगरपालिका-६ का किसान भीमबहादुर डाँगीले दुई दुहुँना भैँसी, दुई पाडापाडी र छ बाख्रा पाल्नुभएको छ । उहाँले घर नजिकैको एक बिघा खेतमा बर्सिन घाँसखेती गर्नुभएको छ । उहाँलाई भैँसी र बाख्रा पाल्न सजिलो भएको छ । 

खेतमा घाँस छर्नुअघि उहाँले दुई घण्टा हिँडेर धारापानीको जङ्गलबाट घाँस ल्याउनुपर्ने बाध्यता थियो । हिउँदमा आफ्नो एक बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बर्सिन घाँस लगाउने गर्नुभएको छ । उहाँले खेतमा घाँस लगाउन थालेको छ वर्ष भयो । हरियो हुँदा काटेर भैँसी र बाख्रालाई खुवाउन पाइएको बताउनुभयो । 

सुकेको डाँठलाई पनि भुसकारुपमा खुवाउन पाइने र फल लाग्यो भने बिक्री पनि गर्न पाइने अत्यन्तै उपयोगी घाँस भएको उहाँले बताउनुभयो । “भैँसी र बाख्राका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिएको छ, समयको बचत पनि भएको छ”, उहाँले भन्नुभयो । हिउँदमा बर्सिन लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ । 

घाँस लगाउँदा त्यसले धान उत्पादनमासमेत वृद्धि हुने उहाँको अनुभव छ । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पुर्‍याउँछ । पशुपालक किसानका लागि बर्सिन घाँस एकदमै उपयोगी भएको उहाँले बताउनुभयो । “एक बिघा खेतबाट एक याममा दुई लाख आम्दानी हुन्छ, गत वर्ष मात्र मैले एक लाखको बर्सिन घाँसको दाना बेचेँ,” उहाँले भन्नुभयो ।

सोही गाउँका खुसलराम डाँगी पेसाले शिक्षक हुनुहुन्छ । उहाँले दुई भैँसी र पाँच बाख्रा पाल्नुभएको छ । “१२ कट्ठा खेतमा बरर्सिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ”, उहाँले भन्नुभयो । बिहान बेलुका घर छेउको खेतबाट घाँस काटेर खुवाउन सजिलो भएको छ । घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरेको उहाँले बताउनुभयो ।

“गत वर्ष ८० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ, यसपालि एक पटक काटेर सकियो, चार पटकसम्म काट्न सकिन्छ”, उहाँले भन्नुभयो । धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । हरियो र सुकेको बर्सिन घाँस गाईबस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । 

मसुरो र गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको उहाँको भनाइ छ । गहुँ र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसानको ‘ग्रिन गोल्ड’ बर्सिन घाँसप्रति आकर्षण बढेको छ । घोराही- ६ का गुरुवागाउँ, जजरागाउँ, वेरगै, गुरगै, बेरुवागाउँ, फचकपुर र अघरा तथा घोराही-१७ को गैरागाउँ र कर्जाहीका किसानले बर्सिन घाँसखेती गरेका छन् ।

अहिले पूरै खेतभरि हरियो बर्सिनखेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका एक सय ८० घर परिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ  । 

दाङमा यो घाँसखेती गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालिएको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटक-पटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । सचिव अधिकारीका अनुसार अहिले एक सय २० हेक्टरमा बसिन घाँसखेती गरिएको छ । घोराही उपमहानगरपालिकाको कृषि शाखाले पशुपालक किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा बर्सिन घाँस वितरण गर्ने गरेको जनाएको छ । रासस