• २२ वैशाख २०८१, शनिबार

चिया अनुसन्धान केन्द्र निर्माणले किसानमा उत्साह

blog

फाइल तस्बिर

इलाम, पुस १९ गते । इलामको सूर्याेदय नगरपालिका-७ कन्याममा २३ करोडको लगानीमा अर्थाेडक्स चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र निर्माण भएको छ । चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ  । 

चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स-साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताउनुभयो । चिया प्राविधिकसमेत गाउँमा नै उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने उहाँको भनाइ छ । “यहाँ सामान्यतया चियामा उत्पादन नहुने, उत्पादन भएको चिया परम्परागत शैलीमा नै टिप्ने र प्रशोधन हुँदै आएको छ तर अनुसन्धान केन्द्रले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ”, भट्टराईले भन्नुभयो ।

नगरपालिकाको एउटा ‘गौरवको आयोजना’ मानिएको यो केन्द्रको भौतिक निर्माण सम्पन्न भएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभएको छ । “यो देशकै पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ”, राईले भन्नुभयो । कोशी प्रदेश सरकार र नगरको साझेदारीमा करिब २३ करोडको लागतमा यो केन्द्र निर्माण भएको हो । 

चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वर भूमि मानिन्छ । इलामको सूर्योदय नगरपालिकालाई त चियाको राजधानी नै भन्ने गरिएको छ । इलाममा अनुसन्धान केन्द्र स्थापना भयो अब नेपाली चियाको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ  । कृषक धिरज अधिकारीले भन्नुभयो, “स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा अब हाम्रो जिल्लामा पर्यटकको सङ्ख्यामासमेत वृद्धि हुने अपेक्षा छ ।” 

नगरपालिका कोशी प्रदेशकै पर्यटकीय नगरी हो । केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवाला बताउँछन् । नगरपालिकामा अन्य पनि ठुला लगानीका आयोजना मध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै धमाधम निर्माण भइरहेका छन् । नगरप्रमुख राईका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठुलो लगानीका आयोजना आउने चरणमा छन् । 

उहाँले भन्नुभयो, “५० करोड लगानीमा पर्यटन, पूर्वाधार र कृषिका आयोजनाको काम भइरहेको छ,  ६६ करोड लगानीको खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ भने ३९ करोड लगानीको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।” फिक्कलमा १३ करोड लगानीमा अस्पतालको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बताउँदै राईले ४४ करोड लगानीको भालुखोपबाट वडा नम्बर १३ र १४ जोड्ने सडक निर्माण भइरहेको जानकारी दिनुभयो । 

नौ करोड लगानीको सिसासहितको ‘सस्पेन्सन ब्रिज’ निर्माण भइरहेको छ । १२ करोड लगानीमा स्विस सरकारसँगको साझेदारीमा सिँचाइ आयोजनाको काम हुँदै गरेको र यसमा नगरसहित प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको उहाँको भनाइ छ । “स्विस सरकारले पर्यटनसम्बन्धी विभिन्न आयोजनामा लगानी गर्न चासो देखाएको छ”, प्रमुख राईले भन्नुभयो, “नगरले आफ्नै लागत तथा अथक प्रयासमा प्रदेश र सङ्घको सहकार्यमा आयोजनाको काम गरिरहेको छ ।” सूर्योदय नगरपालिकाले ठुला आयोजनाको काम गरिरहेकामा नगरवासी खुसी देखिन्छन् । 

यही गतिमा सयौँ आयोजनाको काम सकिँदा विकासमा फड्को मार्ने आशा गरिएको स्थानीय रविन सापकोटा भन्नुहुन्छ, “हाम्रो नगरपालिका चियाको उर्वर भूमि हो । पालिकाले अनुसन्धान केन्द्र बनाएर राम्रो गरेको छ ।” इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ  । रासस