• १४ मंसिर २०८१, शुक्रबार

‘नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय छ’

blog

तिलोत्तमा १७ पकडीहवामा आयोजित महायज्ञ उद्घाटन समारोहमा बौद्ध गुरु लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र कथावाचक दीनबन्धु पोखरेललगायत। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर, पुस १९ गते। मुलुकमा धार्मिक साम्प्रदायिकताविरोधी आवाज उठिरहेको बेला रुपन्देहीबाट धार्मिक सद्भावको सन्देश दिइएको छ। हिन्दु धर्मसँग जोडिएको श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् शृङ्गारिक महाआरतीको बौद्धदर्शनका गुरु एवम् लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) द्वारा उद्घाटन गराएर धार्मिक सद्भावको सन्देश दिइएको हो।  

वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल कथावाचक रहेको महायज्ञमा बौद्धदर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपाली एकताबद्ध रहेको सन्देश दिनुभएको हो। तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पकडीहवा कोटहीमाई मन्दिर प्राङ्गणमा आयोजित महायज्ञमा विभिन्न हिन्दुधर्मका अगुवाको उपस्थिति थियो। महायज्ञको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा. लामाले नेपाल धार्मिक सद्भाव र एकता लागि विश्वमै उदाहरणीय रहेको बताउनुभयो। 

डा. लामाले बौद्धिष्टको मेडिटेसन र हिन्दुहरूको योग विश्वकै लागि नभई नहुने बनेको बताउनुभयो। संविधानसभा सदस्य र पूर्व राज्यमन्त्रीसमेत रहेका उपाध्यक्ष लामाले नेपाल सबै धर्म, जातजाति र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सद्भावलाई भत्कन दिन नहुने उहाँको भनाइ छ।

लामाले सबैको सम्मानजनक उपस्थिति हुनुपर्ने बताउँदै नेपालीबिचको एकतालाई साझा सम्पत्ति बनाउन सक्नुपर्ने बताउनुभयो। कार्यक्रममा कथावाचक दीनबन्धु पोखरेलले नेपाल सामाजिक रूपमा एकताबद्ध र धार्मिक रूपमा समेत मिलेर बसेको समाज रहेको बताउनुभयो। उहाँले नेपाली सधैँ मिलेर बस्ने गरेको स्मरण गर्दै कुनै पनि जातीय तथा धार्मिक भड्कावमा नलाग्न आग्रह गर्नुभयो।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख जागेश्वरीदेवी चौधरी, वडाध्यक्ष दानबहादुर चौधरी, आयोजक समितिका चेतनारायण आचार्य, बालकृष्ण गैरैलगायतले बोल्दै महायज्ञ सफलताको शुभकामना दिनुभयो। बुधबारदेखि सुरु भएको महायज्ञ पुस २४ गतेसम्म चल्नेछ। महायज्ञको प्रमुख कथावाचन पण्डित दीनबन्धु पोखरेल र उपवाचकमा प्रेम सुजन शास्त्री रहनुभएको छ।