छबिलाल पाण्डे
बुटवल, पुस १९ गते । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउनुहुने भएको छ । शुक्रबार बुटवलमा हुने जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि राष्ट्रपति पौडेल बुटवल आउन लाग्नुभएको हो ।
राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार बुटवलको जितगढी किल्ला क्षेत्रमा हुने कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जितगढी किल्लाको पुनः निर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउनेछ ।
सो कार्यक्रमको सबै तयारी पूरा भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रपति पौडेल शुक्रबार दिउँसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकन पश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनुहुनेछ।
किल्लाको संरक्षण र पुनः निर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताउनुभयो ।
किल्लाक्षेत्रमा नेपाली सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रूपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको नेपाली सेना गरुड दल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
बुटवल नगरपालिकाको वडा नम्बर १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ । जितगढीमा वि.सं. १८७२ वैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबिच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो ।
सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सवको रूपमा मनाउँदै आएको छ ।