निशा राई
धरान, पुस १९ गते । धरान सहर स्थापना भएको १२३ औं अवसरमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । बिहीबार ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासिय समृद्ध सहर’भन्ने नारासहित धरान स्थापना भएको १२३ औं अवसरमा उपमहानगरपालिकाको आयोजनामा हिमालय पेट्रोलपम्प भोटेपुलदेखि तीनकुनेसम्म सरसफाइ गरिएको हो ।
"सरसफाइ भन्ने बितिकै वातावरणसँग जोडिन्छ, हामी वातावरण्को एक हिस्सा हौं त्यसैले हाम्रो स्वास्थ्यको लागी सरसफाइ गर्न जरुरी छ । हामी अरुको आशा नगरौं हामीले सकेको आफैं गरौं, सरसफाइ भनेको हाम्रो स्वास्थ्यसँग जोडिएकोले हाम्रो घरवरपर भएको फोहोरमैलालाई व्यवस्थित गरे हाम्रो गाउँ ठाउँ सफा रहन्छ र सरसफाइ भएपछि हाम्रो घर, ठाउँ बाटो सफा रहन्छ र धरान सफा भए पर्यटक बढ्छ", नगर प्रमुख हर्कराज राईले भन्नुभयो ।
फोहारमैला टिप्ने क्रममा ७५ प्रतिशत झाेला, गुट्खालगायत सुर्तीजन्य पदार्थको रहेकोले यसलाई रोक्नुपर्ने धरान उपमहानगरपालिकाको उपप्रमुख आइन्द्रविक्रम बेघाले बताउनुभयो । यसले स्वास्थ्य सँगसँगै वातावरणलाई पनि असर गर्ने हुँदा यसलाई कानुन निर्माण गरेर प्रतिबन्ध लगाउनुपर्ने उहाँले बताउनुभयो ।
उक्त बृहत् सरसफाइ अभियानमा नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत कार्यपालिका सदस्यहरु, सशस्त्र प्रहरी, जनपद प्रहरी, नगर प्रहरी, टोल विकास संस्था र विभिन्न सामाजिक संस्थाको पनि सहभागिता थियो ।