• १३ साउन २०८१, आइतबार

सम्भव नेपालद्वारा एम्बुलेन्स सहयोग

blog

गुणबहादुर रोका

सुलीकोट, पुस १९ गते । सम्भव नेपालद्वारा ७ थान “ख” वर्गको एम्बुलेन्स गोरखाका ७ वटा गाउँपालिकाहरूलाई हस्तान्तरण गरिएको छ । बिहीबार गोरखा समन्वय समितिको प्राङ्गणमा एक कार्यक्रमकाबिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिकाका प्रमुखहरूलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले जनताको सेवाभन्दा ठुलो धर्म अरू कुनै नभएकाले गोरखावासीहरूलाई यसले धेरै ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । यस्ता परोपकारी कामले जनताको मन जितेर अघि बढ्दा जनतासँग निकट हुन सहज पनि बताउनुभयो ।   

कार्यक्रममा गोरखाका ७ वटा स्थानीय तहका स्थानीय स्वास्थ्य चौकीहरूलाई ग्रामीण भेगका आम नागरिकलाई सहज रूपमा अस्पतालसम्म पुर्‍याउन सहज बनोस् भन्ने उद्देश्यका साथ एम्बुलेन्स वितरण गरिएको सम्भव नेपालका अध्यक्ष तथा युवा समाजसेवी प्रेम खत्रीले बताउनुभयो । 

एम्बुलेन्स तथा स्वास्थ्य सामग्री पाउने स्वास्थ्य संस्थाहरू चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकी-१ थान, गण्डकी गाउँपालिका-५ दर्बुङ स्वास्थ्य चौकी-१ थान, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी-१ थान, पालुङटार नगरपालिका-१० मिरकोट कोटगढी आधारभूत स्वास्थ्य चौकी-१ थान, सिरानचोक गाउँपालिका श्रीनाथकोट स्वास्थ्य चौकी-१ थान, अजिरकोट गाउँपालिका भच्चेक आधारभूत स्वास्थ्य चौकी-१ थान र बारपाक सुलीकोट गाउँपालिकाको सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पताललाई-१ गरी जम्मा ७ पालिकाका स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । 

“ख” वर्गको एम्बुलेन्स बुझझैँ बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टाले स्वास्थ्य क्षेत्रमा एम्बुलेन्सले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्भव नेपाललाई हार्दिक धन्यवाद दिनुभयो । केही वर्ष कोभिडका बेलामा पनि सम्भव नेपालले “ग” वर्गको एम्बुलेन्स हस्तान्तरण गरेर गोरखाका पालिकाहरूलाई सहयोग गर्दै आएको सम्भव नेपालका कार्यकारी प्रमुख उत्तम अधिकारीले बताउनुभयो ।