• १४ असार २०८१, शुक्रबार

जैविक विविधता संरक्षण र सदुपयोग आवश्यक

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १८ गते। हिमाली क्षेत्रमा पाइने जैविक विविधता तथा वनस्पतिको संरक्षण गर्दै यसको सही सदुपयोग गर्न आवश्यक रहेकोमा जोड दिइएको छ। दिगो जैविक स्रोतका लागि एसियाली नेटवर्क (एनसाव) र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आयोजना गरेको एक कार्यक्रममा जैविक विविधताको संरक्षण र सदुपयोग आवश्यक भएकोमा जोड दिइएको छ।

सदरमुकाम फुङ्लिङमा बुधबार आयोजित कार्यक्रममा जैविक विविधताअन्तर्गत हिमाली क्षेत्रमा पाइने जडीबुटीको संरक्षण साथै सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। हिमाली क्षेत्रमा उपलब्ध वनस्पति अर्थात् जडीबुटीको सही सदुपयोगले स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउने भएकाले संरक्षण साथै सदुपयोग गर्न आवश्यक रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले बताउनुभयो।

उपाध्यक्ष शाहीका अनुसार बहुमूल्य वनस्पति जडीबुटीको अवैध सङ्कलन हुने गरेको साथै सही सदुपयोग नहुँदा स्थानीय उपभोक्ता लाभ लिनबाट वञ्चित छन्। उहाँले जैविक विविधताको संरक्षणमा क्रियाशील महासङ्घ तथा महासङ्घमा आबद्ध पदाधिकारी तथा उपभोक्ता थप जिम्मेवार बन्दै विविधताको दिगो संरक्षण र सदुपयोग गर्ने कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। सो कार्यले स्थानीय समुदाय तथा उपभोक्ताको जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको भनाइ छ।

यस्तै वन तथा जलवायु परिवर्तन विज्ञ डा. नवीनराज जोशीले जैविक विविधताको संरक्षण र सदुपयोगले उपभोक्ताको जीविकोपार्जनसँगै आत्मनिर्भर बन्नमा टेवा पुग्ने बताउनुभयो। नेपालको उच्च पहाडी क्षेत्रमा रहेका सामुदायिक वनका सवाल तथा अनुभव आदानप्रदान जिल्लास्तरीय गोष्ठीको सहजीकरण गर्नुहुँदै डा. जोशीले जैविक वनस्पति जडीबुटीको सही सदुपयोग हुन नसक्दा यसबाट हुने लाभ वा फाइदा गुमाइरहनुपरेको बताउनुभयो। 

उहाँले नेपालको वन क्षेत्रअन्तर्गत तराई, पहाड र हिमालमा गरिने क्रियाकलाप तथा नीतिगत व्यवस्था एकै किसिमको रहेकाले सहजगरी काम गर्नमा पनि समस्या रहेको बताउनुभयो। तराई क्षेत्रको वन व्यवस्थापन र सदुपयोग तथा पहाड र हिमाली क्षेत्रको वनको व्यवस्थापन तथा सदुपयोगमा फरक–फरक नीतिगत व्यवस्था हुन आवश्यक रहेको पनि उहाँको भनाइ छ। 

भूगोल र भू–बनावटका आधारमा फरक–फरक नीतिगत व्यवस्था साथै संरक्षण र सदुपयोग प्रणाली पनि छुट्टै भएमा सम्बन्धित क्षेत्रका उपभोक्ताले बढीभन्दा बढी फाइदा लिनसक्ने पनि उहाँले बताउनुभयो। उहाँले पहाड तथा हिमाली क्षेत्रमा बहुमूल्य वनस्पति जडीबुटी पाइने भए पनि सदुपयोग न्यून हुँदा पाउनुपर्ने लाभ वा आम्दानी गुमिरहेको बताउनुभयो। 

आवश्यक नीतिगत व्यवस्था भएमा पहाड तथा हिमाली क्षेत्रका समुदाय वा उपभोक्ताले सोचेभन्दा बढी फाइदा लिने निश्चित रहेको पनि उहाँले बताउनुभयो। यता दिगो जैविक स्रोतका लागि एसियाली नेटवर्कसँगको सहकार्यमा करिब दुई दशक लामो समयसम्म काम गरेको अनुभवले पनि भूगोल सापेक्ष नीतिगत व्यवस्थाको जरुर रहेको वरिष्ठ उपाध्यक्ष शाहीले बताउनुभयो। उहाँले वन क्षेत्रको स्रोत नक्साङ्कन र स्रोत सर्वेक्षणसँगै सम्भाव्य उद्यमको स्थापना गरी बजारीकरण समेतमा जोड दिँदै देशको अर्थतन्त्रको विकासमा पहल गर्नुपर्ने बताउनुभयो। शाहीले वन क्षेत्रको भूगोल वा स्तरअनुसार काम गर्नलाई नीतिगत व्यवस्थाकै खाँचो रहेकाले यसका लागि महासङ्घले निरन्तर पैरवी गरिरहेको पनि बताउनुभयो।

कार्यक्रममा फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाह लगायतले पनि वन संरक्षणमा जोड दिँदै उपभोक्तालाई प्रत्यक्ष लाम मिल्ने खालको काम गर्नुपर्ने सुझाव दिनुभएको। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार कार्यक्रममा स्थानीय वन उपभोक्ता समूहहरूका प्रतिनिधि लगायतका सरोकारवालाको सहभागिता रहेको थियो।