• १२ असोज २०८१, शनिबार

इलामको माङसेबुङमा दुई करोडको लागतमा सिँचाइ व्यवस्था

blog

फाइल तस्बिर

फिक्कल (इलाम), पुस १८ गते । इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ । माङसेबुङ गाउँपालिका-१ का चार वटा टोलमा सिँचाइका निम्ति कुलो निर्माण गरिएका हुन् ।

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा कुलो निर्माण गरिएको वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिनुभयो । कुलो निर्माण भएपछि एक सय ३७ किसान प्रत्यक्ष लाभान्वित भएका वडाध्यक्ष योङहाङले बताउनुभयो । स्थानीय लम्फेवा खोलाबाट तीन वटा र फेवाखोलाबाट एउटा कुलो खनिएको हो । 

पाटीगाउँमा ४८ लाख, लम्फेवा खोलाबाट ४५ लाख लम्फेवा खोलाबाटै दोभान क्षेत्रमा ५३ र माङसेबुङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने फेवा खोलाबाट तोभाङमा ६८ लाखको लागतमा कुलो निर्माण गरिएको हो । कुलो खन्न लागि स्विस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०-२० प्रतिशत र स्थानीय उपभोक्ताबाट १० प्रतिशत योगदान भएको थियो । रासस