• ३ जेठ २०८१, बिहिबार

नेत्रज्योतिको भवन प्रबलीकरण सम्पन्न

blog

नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालको स्तरोन्नति गरिएको भवन। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १८ गते। ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घको भवन स्तरोन्नति तथा प्रबलीकरणको काम सम्पन्न भएको छ। नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्च नामक संस्थाले सदरमुकाम फुङ्लिङमा रहेको भवन स्तरोन्नति तथा प्रबलीकरणको काम गरेको हो।

ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईँले भौतिक पूर्वाधारतर्फ नेत्रज्योतिको भवन स्तरोन्नति साथै प्रबलीकरणको काम सम्पन्न भएको बताउनुभयो। आर्थिक सहयोगदाताको रूपमा रहेको संस्था नेपाल मेडिकल सपोर्ट जर्मनीले दुई चरणमा उपलब्ध गराएको कुल रकम भ्याटसहित ८८ लाख ११ हजार ६५२ रुपियाँको लागतमा भवन निर्माणको काम सम्पन्न गरिएको अध्यक्ष प्रसाईँले जानकारी दिनुभयो।

उहाँकाअनुसार पहिलो चरणमा ७१ लाख नौ हजार २४५ रुपियाँ र दोस्रो चरणमा १७ लाख दुई हजार ४०७ रुपियाँ नेपाल मेडिकल सपोर्ट जर्मनीले थप रकम उपलब्ध गराएको थियो। भवन स्तरोन्नति तथा प्रबलीकरणका लागि २०७९ साल असोजमा योजना सम्झौता गरी माघदेखि काम सुरु गरिएको र दोस्रो चरणको बजेट समेतबाट २०८० पुस १ गतेभित्र काम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो।

मञ्चले स्तरोन्नति तथा प्रबलीकरणको काम सम्पन्न भएसँगै नेत्रज्योति सङ्घलाई भवन हस्तान्तरणको तयारी गरिहरेको जनाएको छ। नेत्रज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको आवश्यकताअनुसार भवनको स्वरूप (डिजाइन) तयार गरी निर्माणको काम गरेको पनि मञ्चले जानकारी दिएको छ। भवनको आवश्यक कोठा, छाना र महिला–पुरुष तथा अपाङ्गमैत्री छुट्टा–छुट्टै शौचालयसहित संरचना निर्माण गरिएको पनि अध्यक्ष प्रसाईँले जानकारी दिनुभयो।

भवन निर्माणको अगुवाइ गरेको संस्था ताप्लेजुङ विकास मञ्चले बुधबार सदरमुकाम फुङ्लिङमा सार्वजनिक सुनुवाइ गरी संरचना निर्माण, कामको प्रक्रिया र खर्चको अवस्था सार्वजनिक गरेको छ। सार्वजनिक सुनुवाइमा सहभागीले राखेको प्रतिक्रिया, जिज्ञासा र सुझावका विषयमा मञ्चका अध्यक्ष प्रसाईँसहितका पदाधिकारीले प्रस्ट्याउनुभएको  थियो। 

यता आँखा अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधारसहितका संरचना निर्माण गरी दिएकोमा आर्थिक सहयोगदाता र निर्माणको अगुवाइ गर्ने संस्थाप्रति नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका सभापति राजकुमार गुरुङले आभार व्यक्त गर्नुभएको छ। कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, विभिन्न वडाका वडाध्यक्षसहित सरोकारवालाको सहभागिता रहेको थियो।