• १४ मंसिर २०८१, शुक्रबार

काटिएको विद्युत् लाइन जडान गर्न उद्योगीको माग

blog

विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउँदै उद्योगी। तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, पुस १८ गते। रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगले विद्युत् काटिएका उद्योगको लाइन पुनः निःशर्त जडान गर्न माग गरेका छन्। उनीहरूले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएमा १९ वटा उद्योग एकैसाथ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरूले यस्तो माग गरेका हुन्। बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगले नेपाल विद्युत प्राधिकरण भैरहवा तथा नयाँमिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रङ्कलाइनको छुट बिलिङ गरेकाले कानुनसम्मत नरहेको छुट बिलका विरुद्ध कानुनी बाटो अवलम्बन गरिएको उद्योगीको भनाइ छ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले एक्कासि लाइन काटिएको बताउनुभयो। उहाँले उद्योगमा लाइन काटिँदा उद्योगीसँगै मजदुर बिचल्लीमा परेको बताउनुभयो। उहाँले शुक्रबारसम्म लाइन नजोडिए उद्योग बन्द गरेर तालाचाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने बताउनुभयो।

विद्युत प्राधिकरणले उद्योगमाथि दबाब सिर्जना गर्न विद्युत् लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुई वटा उद्योगको लाइन काटेको प्रति बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगी त्रसित भएको ज्ञापनपत्रमा उल्लेख छ।

‘प्राधिकरण भैरहवा वितरण केन्द्रले २०७९ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा हामी १३ वटा उद्योगको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएका औद्योगिक फिडर (भैरहवा पुरानो र न्यु २) बाट फिडर परिवर्तन गरेर अमुवा भरवलिया प्रसारण ट्रङ्कलाइनमा वितरण केन्द्रको आफ्नै बाध्यताका कारणले सार्नु न्यायसम्मत नरहेको छुट बिल २०७५ देखिको जारी गरिएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ।

त्यस्तै अन्य उद्योगहरू भैरहवामा पुरानो र न्यु २ फिडरबाट जडान भएदेखि हालसम्म निरन्तर यही फिडरबाट विद्युत आपूर्ति लिइरहेको प्राधिकरणले आफैले १३ वटा उद्योगको कबोल गरेको २०७४ चैतसम्म विद्युत आपूर्ति गर्न प्रयोग भएको भैरहवा पुरानो र न्यु फिडर ट्रङ्कलाइन नभएको यथार्थ र तथ्यलाई ओझेलमा पारी हचुवाको भरमा न्यायसम्मत नरहेको २०७२ भदौदेखिको छुट बिल जारी गरिएको उद्योगीहरूको आरोप छ।

उद्योगी र प्राधिकरणबिचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधीन रहेकै अवस्थामा लाइन काटिएको र अदालतको फैसला नआउन्जेल उद्योगको विद्युत् तत्कालै सुचारु गरी उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताउनुभयो।

उद्योगी विनय गोयनकाले नेपाल विद्युत प्राधिकरणले आफूहरूमाथि अन्याय गरेको गुनासो गर्नुभयो। ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले उद्योगीको माग माथिल्लो निकायमा पठाउने र माथिल्लो निकायबाट आएको निर्देशन उद्योगसमक्ष पुर्‍याउने बताउनुभयो। उहाँले किस्तामा विद्युत् महसुल तिर्न उद्योगी तयार भए निवेदन लिने भन्ने कुरा निर्देशन आएको बताउनुभयो।

त्यस्तै नेपाल विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले सत्यतथ्य बुझेर प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाउने बताउनुभयो।