• १२ असोज २०८१, शनिबार

विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण

blog

विद्युत मिटर प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस १८ गते । छत्रकोट गाउँपालिकाले अति विपन्न २४ जनालाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ । गाउँपालिकाभित्रका २४ जना विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।  

छरछिमेकको घरबाट तार तानेर ल्याई विद्युत बालेका उनीहरूलाई निःशुल्क मिटर प्रदान गरिएको पाण्डेले बताउनुभयो । 

वार्षिक स्वीकृत कार्यक्रमबाट विपन्नलाई विद्युत मिटर वितरण गर्नका लागि विनियोजन गरिएको एक लाख रुपियाँबाट विद्युत मिटर वितरण गरिएको प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो । वडाको सिफारिसको आधारमा विपन्न वर्गहरूलाई मिटर प्रदान गरिएको उहाँले बत्ताउनुभयो । यसका साथै विपन्नहरूको आयआर्जनमा वृद्धि गर्नका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरू बनाएको पुनले बताउनुभयो ।

गाउँपालिकाले पालिका भित्रका पाँच हजार तीन सय ४८ घरपरिवारको न्यूनतम विद्युत महसुल भुक्तानी गरिदिने गरेको छ । उहाँहरूको २० युनिट सम्मको ३० रुपियाँ गाउँपालिकाले सिधै गुल्मी वितरण केन्द्रमा भुक्तानी गरिदिने गरेको त्यस माथिको रकम घरधनीले तिर्नुपर्ने उहाँले बताउनुभयो ।

विद्युत मिटर पाएपछि अरूको घरबाट तार तानेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको मिटर प्राप्त गर्नेहरूले जनाएका छन् । आफ्नै घरमा विद्युत मिटर भएपछि छिमेकीहरुसङ हुने सामान्य विवादको पनि हल भएको र स्थानीय सरकार आफूहरूको साथमा रहेको अनुभूति भएको उहाँहरूको भनाइ छ ।