• १२ असोज २०८१, शनिबार

प्रधानमन्त्री कप : एपीएफ च्याम्पियन

blog

कोशीलाई हराएपछि खुसी मनाउँदै एपीएफका खेलाडी ।

काठमाडौँ, पुस १८ गते । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । 

जितको लागि एक सय १५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ६२ रन बनाउनुभयो ।

रुविनाले ५८ बलमा सात चौका र एक छक्काको सहयोगमा अर्धशतकीय रन बनाउनुभएको हो । काजल श्रेष्ठले २२ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा एपीएफकी करुणा भण्डारी र सिता रनामगरले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ४७ बल खेल्दै ५३ रनको योगदान दिनुभयो । ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाउनुभयो । 

बलिङतर्फ कोशीका अप्सरी बेगमले ह्याट्रिक गर्नुभयो । उहाँले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिनुभयो । बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिनुभएको थियो ।

एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक एक विकेट झार्नुभयो ।  उपाधिसँगै एपीएफले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । उपपिवजेता कोशीले तीन लाख रुपियाँ प्राप्त गरेको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक महिला क्रिकेटको राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो । मूलपानी र कीर्तिपुरमा पुस ५ देखि सुरु भएको प्रतियोगितामा एपीएफ र सात प्रदेशगरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । 


यो पनि पढ्नुहोस

रुबिना प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी