• १२ असोज २०८१, शनिबार

नेपालगन्जको तापक्रम ७.८ डिग्री, चिसोले जनजीवन प्रभावित

blog

चिसो अत्यधिक बढेपछि सुनसान देखिएको सडक । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस १८ गते ।
गत केही दिन यता सुरु भएको हुस्सु र कुहिरोसँगै बिहान बेलुका चल्ने शीतलहरले नेपालगन्जमा अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

जल तथा मौसम कार्यालय नेपालगन्जका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बुधबार बिहान नेपालगन्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस थियो ।

मौसमविज्ञान सहायक रानाका अनुसार यसअघि मङ्गलबार नेपालगन्जको तापक्रम झनै घटेको थियो । मङ्गलबार बिहान नेपालगन्जको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो ।

उहाँले अब केही दिनसम्म यहाँको मौसम यस्तै रहने जनाउँदै अलिअलि तलमाथि मात्रै हुने बताउनुभयो । केही दिन यता नेपालगन्जमा राम्ररी घाम लाग्न पाएको छैन । दिउँसो केही छिन मात्र घाम देखिन्छ भने कुनै कुनै दिन दिनभरि नै हुस्सु र कुहिरोले ढाक्ने गरेको छ ।

चिसो बढ्दै जान थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बालबालिका, ज्येष्ठ नागरिकलगायत दैनिक ज्याला मजदुरी गर्नेहरु सबैभन्दा प्रभावित भएका छन् ।

चिसोकै कारण नेपालगन्ज बजार सुनसान हुन थालेको छ । दिउँसो र अपराह्न  मात्रै बजारमा केही चहलपहल देखिन्छ भने अन्य समयमा बजार सुनसान नै रहने गरेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।