• १३ साउन २०८१, आइतबार

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्झौता

blog

सम्झौता पत्र आदानप्रदान गर्दै मेयर विमला राई, उपमेयर रमेश कुमार राउत, फाउण्डेसनका कार्यकारी निर्देशक दिपक राज सापकोटा लगायत ।

राजकुमार भट्टराई

खोटाङ, पुस १७ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ । जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवम् अपाङ्गता भएका सहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम सञ्चालनका लागि नगरपालिका र करुणा फाउण्डेसन संस्थाबीच सम्झौता भएको हो । 

कोशी प्रदेश सरकार, हलेसी तुवाचुङ नगरपालिका र फाउण्डेसनको संयुक्त लगानीमा हुने यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ । सम्झौता अनुसार २०८० माघ १ गतेबाट ०८३ पुस मसान्तसम्म लागु हुने जनाइएको छ । यस बिचमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य उपचार र सहायक सामग्री वितरण, समावेशी शिक्षा, जीविकोपार्जन, सामाजिकीकरण, सशक्तीकरण जस्ता क्रियाकलापहरु पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको संस्थाहरुसँगको समन्वयमा सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । 

अब पालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परामर्श तथा सेवा प्रवाहमा सहजिकरण गर्नका लागि मन्त्रलायले जारी गरेको सहजकर्ता छनोट सम्बन्धी मार्गदर्शन, २०७९ बमोजिम प्रक्रिया पुरा गरी अपाङ्गता सहायता सहजकर्ता नियुक्ति गर्नेछ । नियुक्त भएका सहजर्तालाई आवश्यक तालिम प्रदान गरेर पालिकाभित्र भएका अपाङ्गताको तथ्याङ्क सङ्लकनदेखि उनीहरुको अवस्था बुझ्ने काम हुनेछ । त्यसपश्चात अपाङ्गता भएका व्यक्तिहरुको अवस्था हेरेर उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा प्रदान गरिनेछ । जीविकोपार्जन, सामाजीकीकरण लगायत सुधार गरेर उनीहरुलाई सशक्त बनाइने करुणा फाउण्डेसनका कार्यकारी निर्देशक दिपक राज सापकोटाले बताउनुभयो । 

सापकोटाका अनुसार अपाङ्गता भएका बच्चा जन्मन नदिनका लागि बच्चा जन्माउन इच्छुक दम्पतीलाई फोलि एसिड खान लगाइनेछ । बच्चा जन्मेपछि २९ दिनभित्र स्वास्थ्य परिक्षण गरिनेछ । दश वर्ष मुनिका सबै बालबालिकाको हरेक वर्ष स्वास्थ्य परिक्षण गरेर उनीहरुको अवस्था अनुसार स्वास्थ्य र पोषणमा आवश्यक काम गरिने छ । तीन वर्षसम्म सञ्चालन हुने यस कार्यक्रमबाट नगरपालिकाका ३२ प्रतिशत नागरिक लाभाम्वित हुने सापकोटाको भनाइ छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार हलेसी तुवाचुङ नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या ६ सय ९४ जना छ ।  

आर्थिक वर्ष २०७६-०७७ बाट कोशी प्रदेशमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको हो । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले निर्देशिका जारी गरेर सुरु भएको यस कार्यक्रम हालसम्म प्रदशेका ९० वटा स्थानीय तहहरुमा सञ्चालन भइसकेको छ । चालू आर्थिक वर्षदेखि प्रदेशका चार जिल्ला खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका ३४ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । सोही अनुसार हलेसी तुवाचुङ नगरपालिकामा पहिलो सम्झौता भएको कार्यकारी निर्देशक सापकोटाले बताउनुभयो । क्रमश आगामी दिनमा अन्य स्थानीय तहहरुमा सम्झौता हुनेछ ।  

कार्यक्रम सम्झौतासँगै कार्यक्रम सम्बन्धी अभिमुखीकरण समेत गरिएको छ । अभिमुखीकरणमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । यसअघि पनि हलेसी तुवाचुङ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको हितको लागि विभिन्न कार्यक्रम गर्दै आएको मेयर विमला राईले बताउनुभयो । 

यो कार्यक्रम थप भएसँगै अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउन मद्दत पुग्ने उहाँको भनाइ छ । अपाङ्गता भएका व्यक्तिको पहिचान गरी गाउँघरमै पुगेर परिचयपत्र वितरण गर्ने, राज्यले दिएको सेवा सुविधा उपलब्ध गराउने, नगरपालिको तर्फतबाट निःशूल्क बिमा गर्ने साथै बिमा वापतको उपचार नगर अस्पतालबाटै पाउने व्यवस्था लगायतको काम नगरपालिकाले यस अघि नै गरेको मेयर राईले बताउनुभयो ।