• १३ मंसिर २०८१, बिहिबार

दुधको खपत बढाउन छुर्पी उत्पादन

blog

लीलाधर वली 

घोराही, पुस १७ गते । दाङमा दुधको खपतलाई बढाउन छुर्पी उत्पादन गर्न थालिएको छ । खास गरी चिसो मौसममा जिल्लामा हुने दुधको बिक्री समस्यालाई हटाउन दुध प्रशोधन केन्द्र तथा डेरी उद्योगले छुर्पी उत्पादन गर्न थालेका हुन् । 

दुध बिक्रीसँगै छुर्पी उत्पादन गर्दा चिसो मौसममा हुने दुधको बिक्री समस्यालाई कम गर्न मद्दत पुग्ने गरेको गौरव दुग्ध उत्पादन तथा प्रशोधन केन्द्र राजपुरका सञ्चालक शोभाकर घिमिरेले बताउनुभो । 

कात्तिकदेखि माघ/फागुनसम्मको चिसो मौसममा दुधको खपत कम हुने र यो समयमा अन्य समयको तुलनामा जिल्लामा दुधसमेत बढी उत्पादन हुने भएकाले बिक्रीमा समस्या हुने गरेको छ । दुध बिक्रीमा समस्या हुन थालेपछि जिल्लाका व्यवसायीले छुर्पी उत्पादन गर्न थालेको सञ्चालक घिमिरे बताउनुहुन्छ । 

जिल्लामा दुधको खपत कम हुँदा किसानबाट सङ्कलन गरेको दुधबाट छुर्पी उत्पादन गरेर जिल्लासँगै काठमाडौँसम्म बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । यसरी उत्पादन गरिएको छुर्पी प्रतिकिलो एक हजार रुपियाँ दरले बिक्री हुने गरेको उहाँले बताउनुभएको छ । छुर्पी उत्पादन गर्दा जिल्लामा नियमित रूपमा दुध व्यवसायमा संलग्न किसानलाई फाइदा हुने गरेको छ । 

यो मौसममा जिल्लाबाट २५ देखि ३० क्विन्टलसम्म छुर्पी बिक्री हुने गरेको छ । यो मौसममा घोराही, तुलसीपुर देउखुरीमा रहेका अन्य डेरी उद्योगले पनि छुर्पी उत्पादन गर्ने गरेको उहाँ बताउनुहुन्छ  । 

दुग्ध उत्पादन तथा प्रशोधन केन्द्रका सञ्चालक घिमिरेका अनुसार यो केन्द्रले राजपुरमा दैनिक एक हजार लिटर दुध सङ्कलन गरेर छुर्पी बनाउने गरेको छ । गाउँमा दुग्ध उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि किसानलाई सहज भएको दुध व्यवसायी तथा भैँसी स्रोत केन्द्र राजपुरका अध्यक्ष परशु यादव बताउनुहुन्छ । 

पहिले दुध बिक्रीका लागि बोकेर बजारसम्म जानुपर्ने बाध्यता भए पनि अहिले सहज भएको उहाँ बताउनुहुन्छ तर पछिल्लो समय दानालगायतका सामग्री महँगिए पनि दुधको मूल्य नबढ्दा भने व्यवसायी समस्यामा भएको उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “गाउँमै दुग्ध उत्पादन तथा प्रशोधन केन्द्र नहुँदा चिसो मौसममा किसानलाई दुध बिक्रीका लागि आफैँ बजारसम्म लग्नुपर्ने बाध्यता थियो तर अहिले गाउँबाटै बिक्री हुने गरेको छ ।” 

दुधको उचित मूल्य नपाउँदा अहिले पनि कतिपय किसान दुध बिक्रीकै लागि लमही तथा घोराही बजारसम्म पुग्ने गरेको उहाँ बताउनुहुन्छ । गाउँमा भैँसी स्रोत केन्द्र स्थापना भएपछि गोठ सुधार, औषधी उपचारलगायतका किसानलाई सहज घाँस खेती गर्नेबारेमा किसानले सहयोग पाउँदा भैँसीपालनका लागि सहजता भएको उहाँले बताउनुभयो ।  

उहाँका अनुसार राजपुरमै दुग्ध उत्पादन तथा प्रशोधन केन्द्रले ५०/६० रुपियाँसम्म प्रतिलिटर बिक्री हुने गरे पनि बजारसम्म लैजाँदा ७० देखि ८० रुपियाँसम्म प्रतिलिटर दुध बिक्री हुने गरेको छ ।