रेखीराम राना
तानसेन, पुस १६ गते । गोर्खा वेल्फेयर ट्रष्टले विपद् नियन्त्रणमा सहयोग पुग्ने सामग्री हस्तान्तरण गरेको छ । ट्रस्टले जिल्लाको पूर्वखोला गाउँपालिकालाई सात लाख रुपियाँ बराबरको आगो नियन्त्रण तथा खोज र उद्दार कार्यमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गरेको हो ।
ट्रष्टले सेफ्टी उपकरण, फायर फाइटिङ् सुट, हेल्मेट, बुट, टर्च, मास्क, सेफ्टी ग्लास, सिँढी, फायर स्ट्रिङ्रिसर्ट पालिकालाई प्रदान गरेको छ । यस्तै फायर बल, माइक, रेनकोट, हेडलाईटसहित उद्दारमा आवश्यक पर्ने ६२ प्रकारका सामग्रीहरू प्रदान गरिएको ट्रष्टका इन्जिनियरिङ् विभाग पोखराका विभागीय प्रमुख दानबहादुर जिरेलले जानकारी दिनुभयो ।
बेलायती सहयोग नियोगको सहयोगमा विपद् नियन्त्रणमा सहयोग पुर्य ाउने सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । ट्रस्टले पूर्वखोला गाउँपालिका सहित नेपालका पाँच वटा स्थानीय तहमा सामग्री हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।
पूर्वखोला गाउँपालिकका अध्यक्ष नुनबहादुर थापाले विपदमा स्थानीय बासिन्दा, दातृ निकाय तथा अन्य संघ संस्थासँग सहकार्य गर्ने पालिकाको योजना अनुरुप ट्रस्टसँग सहकार्य गरिएको बताउनुभयो। विपद् नियन्त्रण गर्ने सामग्रीले पूर्वखोलासहित छिमेकी पालिकामा हुने घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।