• ३ जेठ २०८१, बिहिबार

अरुण नदीको पानी पुगेपछि स्थानीयवासी खुसी

blog

अरुण नदी । फाइल तस्बिर

भोजपुर, पुस १६ गते । अरुण नदीको पानी लिफ्ट प्रविधिमार्फत सातटार बस्तीमा पुगेपछि वर्षौदेखिको पानीको समस्या हटेको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले अरुण नदीको पानी सोलार लिफ्टमार्फत एक हजार पाँच सय मिटर उचाइमा रहेको बस्तीमा पुराएपछि स्थानीयले सुखको सास फेरेको सातटारेका स्थानीयवासी गजेन्द्र कटुवालले बताउनुभयो । 

आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको आयोजनाको कुल लागत तीन करोड ३७ लाख ५८ रहेको कार्यालयले जनाएको छ । कार्यालयले सङ्खुवासभाको चैनपुर नगरपालिका– ११ मा खहरे सातटारे सोलार लिफ्ट आयोजना सञ्चालन गरेर यहाँका ६४ घर परिवारलाई पानी वितरण गरेको छ । घण्टौँ लगाएर खोलाखोल्सी तथा अरुण नदीबाट डोकोमा बोकेर पानी खाइरहेको अवस्थामा बस्तीमा पानी पुग्दा खुसी लागेको कटुवालको भनाइ छ ।

“सुक्खा क्षेत्र भएकाले यहाँ पानीको अतिनै समस्या थियो”, उहाँले भन्नुभयो, “खोला खोल्सी र कुवाबाट पानीको जोह गर्दै आएका थियौँ । कुवा पनि सुक्न थालेको अवस्था छ । अब भने हाम्रो वर्षौको समस्या अन्त्य भएको छ ।” स्थानीयले भोगिरहेको पानीको समस्या अन्त्यका लागि प्राथमिकताका साथ योजना निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताउनुभयो । योजनाको मुख्य काम सकिएर वितरण सुरु भएको र उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी गरिएको प्रमुख सिंहको भनाइ छ । 

“योजनाको मुख्य काम सकिएको छ”, प्रमुख सिंहले भन्नुभयो, “सबै काम सकिएर बस्तीमा पानी वितरण थालिएको छ । बाँकी साना काम सम्पन्न गरी  समितिलाई हस्तान्तरण गर्ने छौँ ।” सोलार लिफ्ट आयोजना सुरुमा खर्चिलो भए पनि दीर्घकालीन हिसाबले मितव्ययी भएको उहाँको भनाइ छ । खानेपानीका लिफ्ट प्रकृतिका योजना सञ्चालन गर्दा प्रदेश तथा केन्द्र सरकारले सोलार प्रविधिको लिफ्ट आयोजनालाई प्राथमिकता राख्नुपर्ने उहाँको सुझाव छ । “यो योजना सोलार प्रविधिबाट सञ्चालन गरिएको हो”, प्रमुख सिंहले भन्नुभयो, “यस्ता खालका योजना सञ्चालनले उपभोक्ता समितिले बढी महसुल तिर्नुपर्दैन । एक पटक खर्च गरेपछि विद्युत् जस्तो धेरै खर्चिलो हुदैन । सरकारले विद्युतीय भन्दा पनि सोलार प्रविधिलाई जोड दिन आवश्यक छ ।”

बस्तीमा पानीको हाहाकार भइरहेको अवस्थामा योजना सञ्चालनले दैनिक जीवनमा परिवर्तन आएको निर्माण उपभोक्ता समितिले जनाएको छ । योजनाको सम्पूर्ण काम सकेर ६४ घरपरिवारमा पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर कटुवालले बताउनुभयो । उपभोक्ता समितिको चौकीदार बस्ने घरसमेत निर्माण गरिएको छ । योजनाको करिब सम्पूर्ण काम अन्तिम चरणमा रहेको अध्यक्ष कटुवालको भनाइ छ । “पानीको अभावमा यहाँको बस्ती नै खाली हुने अवस्था थियो”, अध्यक्ष कटुवालले भन्नुभयो, “अरुण नदीबाट धमिलो पानी डोकोमा बाकेर खानुपर्ने अवस्था थियो । तर अब पानीको अभावमा भौँतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ । बस्तीमा पानी वितरण थालेका छौँ । योजनाको काम लगभग सकिएको छ ।” रासस