• २८ वैशाख २०८२, आइतबार

गोरखापत्र ग्राहक शुल्क छुटको समय थप, ४० प्रतिशतसम्म छुटको व्यवस्था

blog

काठमाडौँ, पुस १६ गते । गोरखापत्र संस्थानका प्रकाशनहरूको ग्राहक बन्दा दिइएको विशेष छुटको समय थप भएको छ । नयाँ ग्राहकका लागि विशेष छुट कार्यक्रम अन्तर्गत संस्थानले सुरु गरेको यो योजना पुस मसान्तसम्म लागु हुने संस्थानको वितरण विभागले जनाएको छ । 

संस्थानले गोरखापत्र दैनिकको वार्षिक ग्राहक बन्दा लाग्ने तीन हजार रुपियाँमा आठ सय रुपियाँ छुट दिएको छ भने द राइजिङ नेपाल दैनिकको वार्षिक ग्राहकमा लाग्ने एक हजार पाँच सय मा चार सय रुपियाँ छुट दिएको छ । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नेपालमा पहिलो पटक अखबारको बहु वर्षीय ग्राहक योजना ल्याइएको बताउनुभयो । उहाँले गोरखापत्र संस्थानका प्रकाशनहरूको ग्राहक बन्न चाहने महानुभावका लागि एक वर्षे, दुई वर्षे र तीन वर्षे ग्राहक योजना ल्याइएको जानकारी दिनुभयो । 

अघिल्लो वर्ष पाँच वर्षे ग्राहक योजना ल्याइएको थियो । सोही क्रममा गोरखापत्र दैनिकको एक सय वर्षका लागि गत वर्ष नै वसुन्धरा–मान प्रतिष्ठान ग्राहक बनी सकेको छ । यसै गरी वार्षिक सँगसँगै दुई वर्ष र तीन वर्षका लागि ग्राहक बनेमा गोरखापत्र दैनिकका लागि चार हजार र पाँच हजार पाँच सय साथै र राइजिङ दैनिकका लागि तीन हजार र चार हजार रुपियाँ मात्र लाग्ने छ ।

विशेष छुट अन्तर्गत संस्थानका कुनै पनि प्रकाशन पढ्न तीन वर्ष भन्दा बढी ग्राहक बनेमा ४० प्रतिशत छुट दिइएकाे विभागले जनाएको छ ।