बाबुराम शर्मा
दोलखा, पुस १६ गते । दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुका हीराबहादुर घतानी बाउन्न घुस्सा ५३ ठक्कर खाएर अन्त्यमा बाबुबाजेको पेसामा फर्कनु भएको छ । काठको कामबाट सुन चाँदीको काम र ठेक्कापट्टाबाट पनि खासै उँभो लाग्ने नदेखेपछि पुर्खाबाट सिकेको काठका भाडा बनाउने पेसामा आएर स्थिर हुन लागेको उहाँले स्पष्ट पार्नु भयो ।
विदेश जान मन लागेन धेरै हन्डरपछि काठको कामलाई नै व्यावसायिक बनाउन लागेको छु । उहाँले भन्नुभयो, धेरै बिरालाले मुसा मार्दैन भने झौ धेरै सिप सिकियो तर पुर्खाबाट सिकेको सिप नै दिगो हुने भयो । यसमै दिल बसेको छ । अन्यत्र मन जाँदैन अब ।
काठमाडौँलगायतका ठाउँमा चहारेँ । उहाँले सन्तुष्ट व्यक्त गर्दै भन्नुभयो, आखिर आफ्नो थलो नआई सुख पाइनँ ।दिगो कामको नै सम्मान हुने रहेछ । आफ्नै लगानी आफ्नै सिपले बाँच्न सकिने आशा पलाएको छ । अब दृढ भएर पेसालाई अगाडि बढाउँछु । दिल लगाएर उत्पादन गरेका काठका सामान देख्दा गर्व लाग्न थालेको छ ।
करिब दुई महिनादेखि उत्पादित गरेका काठका सामानबाट २०÷२५ हजार आम्दानी भइसको छ । उहाँले भन्नुभयो, कुल लगानी पाँच लाख भएको छ । काठ छन् बनेका सामान छन् । बिस्तारै प्रचारप्रसार हुन थालेको छ । प्रचारकै लागि दोलखा महोत्सवमा स्टिलमा सामान राखेको छ । दैनिक करिब पाँच हजारका सामान बिक्री भएका छन् । सामान बनाउन मन पनि लागेको छ । अब जीवन सजिलै चल्छ भन्नेमा ढुक्क हुन थालेको छु ।
बाबुबाजेले गरेको विगतका दुःखको स्मरण गर्दै उहाँले भन्नुभयो, पहिला मेसिन नपाउँदा चुनारोका लागि मेलम्ची, झ्याकु, सुरीखोलालगायत चाहार्नु पर्दथ्यो । न पहिरो, न बाढी अब मेसिनमा काम गर्न पनि सजिलो छ । यसबाट राम्रो फाइदा हुने देखिएको छ । यसमा लाग्न ढिला भए जस्तो लागेको छ ।
दार, लाँकुरी,बाँसका जरालगायतबाट सामान बनाउने गरिएको छ । दारका सामान महँगा भने पनि देख्न राम्रो र फाइदाजनक रहेको छ । ढाडो ढिकीको दुई हजार, ठेकीको पाँच हजारदेखि सय रुपियाँसम्मका सामान छन् । डमरु, खैँजडीलगायतका सम्पूर्ण सामान बनेका छन् ।
मानिसलाई सहजै र सस्तो सामान प्रयोग गर्ने वानी बढेको छ । गाउँ घरमा समेत पाइने प्लास्टिक र धातुका तयारी सामानलाई विस्थापित गर्नु चुनौति छ । उहाँले भन्नुभयो, स्वास्थ्यलाई हानि पु–याउने धातुका सामाग्रीभन्दा काठका सामान केही महँगा भए पनि धेरै दिन टिक्ने र फाइदा हुने जन विश्वास बढाउन केही दिन लाग्ला तर अन्त्यमा राम्रै महसुस गराउन सकिन्छ ।