गोरखापत्र अनलाइन
काठमाडौं, पुस १४ गते । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सव मनाएको छ । आज सहिद पार्क गोकर्ण काठमाडौँमा सहकारीको वार्षिकोत्सव मनाइएको हो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै संस्थानका कर्मचारीलाई एक थलोमा जोडेर राख्ने काम सहकारीले गरेको बताउनुभयो । वित्तीय अनुशासन कायम गर्नु निकै चुनौतीको काम भए पनि त्यसको चुस्तता र पारदर्शीताले सबैको विश्वास जित्न सकिने उहाँले बताउनुभयो ।
संस्थानका व्यवस्थापन पक्षले सहजकर्ताको भूमिका मात्र खेल्ने तर संस्थानका मालिक भनेका यहाँका कर्मचारी भएकाले सहकारीलाई संस्थानको विरासत र गौरवअनुरूप प्रभावकारी बनाउन उहाँले सुझाव दिनुभयो । आजको दुनियाँ डिजिटलमा फड्को मारेकाले गोरखापत्रको सहकारीलाई पनि सोहीअनुरूप युग सुहाउँदो संस्था बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानभित्र र सहकारीमा कर्मचारीबिचको एकता कायम गर्ने चुनौती रहेकाले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । सहकारीलाई बलियो र आत्मनिर्भर बनाई कर्मचारीको हितमा लगाउन सक्नुपर्ने उहाँले सुझाव दिनुभयो । कुनै पनि संस्था टिकाउन आपसी विश्वास र सहकार्य आवश्यक परेकाले कर्मचारीबिच त्यसको खाँचो रहेको उहाँले बताउनुभयो ।
सहकारीका अध्यक्ष पुष्पराज जोशीले गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लि. लाई प्रभावशाली बनाउन सबै कर्मचारीको साथ सहयोगको खाँचो रहेको बताउनुभयो । सहकारीभित्र अहिले वित्तीय अनुशासन कायम गर्ने चुनौती रहेको चर्चा गर्नुहुँदै अध्यक्ष जोशीले सबैको प्रयास र सहयोगले सहकारीले प्रगति हासिल गर्दैगएको बताउनुभयो ।
सो अवसरमा उहाँले सहकारीभित्र ३६६ शेयर सदस्य रहेको र ३३ लाख ९३ हजार आठसय शेयर पुँजी सङ्कलन भएको जानकारी दिनुभयो । त्यस्तै, आ.व. २०७९–८० असार मसान्तसम्म सदस्यहरूबाट १ करोड ६० लाख ६० हजार निक्षेप सङ्कलन गरी १ करोड ८९ लाख ५९ हजार ऋण लगानी गरिएको जानकारी दिनुभयो ।
सहकारीले हाल शेयर सदस्यहरूलाई बढीमा २ लाख रुपियाँसम्म ऋण उपलब्ध गराउँदैआएको पनि अध्यक्ष जोशीले जानकारी दिनुभयो । सो अवसरमा संस्थाका कोषाध्यक्ष माया आचार्यले वार्षिक आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
२०६३ मङ्सिर २१ गते स्थापना भएको सहकारीले अहिले १० प्रतिशतभन्दा कम ब्याजदरमा दुई लाख रुपियाँसम्म ऋण, घरायसी सामानहरूको किस्ताबन्दी कार्यक्रम, सदस्यहरूको जम्मा बचत र शेयर रकमको ८० प्रतिशतसम्मको विशेष ऋण स्वीकृत कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
सो अवसरमा एसइईमा उत्कृष्ट अङ्क ल्याउने कर्मचारीका छोराछोरीलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा चिन्तन तिवारी प्रथम, आदित्य श्रेष्ठ द्वितीय र कृतिका सापकोटा तेस्रो भएको सम्मान प्रदान गरिएको छ । त्यस्तै, तीन जनालाई सान्त्वना सम्मान प्रदान गरिएको छ । सान्त्वना पाउनेहरूमा युनिक शर्मा, पृथ्वीराज श्रेष्ठ र अभिक गिरी रहनुभएको छ । उहाँहरूलाई कार्यकारी अध्यक्ष सुवेदी तथा महाप्रबन्धक ऐरीले सम्मान प्रदान गर्नुभयो ।
प्रथम हुने विद्यार्थीलाई तीन हजार पाँचसय, द्वितीय हुनेलाई तीन हजार, तृतीय हुनेलाई दुई हजार पाँचसय र सान्त्वना हुनेलाई एक हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।