• ८ असार २०८१, शनिबार

खेलाडी सवार बस दुर्घटना : एकको मृत्यु, १३ घाइते

blog

जानु पाण्डे 

कपिलवस्तु, पुस १४ गते । मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा १ खेलाडीको मृत्यु भएको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका–१ चोर खोलामा शनिबार राति १ बजे खेलाडी सवार बस ट्रकसँग ठोकिएको थियो । हेटौडाबाट धनगढी जाँदै गरेको सु.प. ०१–००१ ख ३३९२ नम्बरको बस र लु १ ख ८६०८ को ट्रक एकापसमा ठोकिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक तारिकचन्द्र चौधरीले बताउनुभयो । 

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१२ वर्षकी उसु खेलाडी निता खड्का रहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य १३ जना घाइते हुनुभएको छ । घाइतेमध्ये ३ जनाको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

घाइते हुनेमा उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, सृजना बिसी, मुकेश कार्की, अस्मिता गाहा मगर, अभि महतो, हरिचन्द्र कार्की, दीपक चौधरी, ज्ञानु विक र निर्णायक खुसीराम थारु, राजीव गुप्ता, एलिसा खाती रहेको सुदूर पश्चिम प्रदेश खेलकुद परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ ।