• २७ पुस २०८१, शनिबार

तरकारी खेतीबाट पर्याप्त आम्दानी गर्दै बास्तोला

blog

फाइल तस्बिर

गण्डकी, पुस १४ गते । लगनशील हुने हो भने कृषि गर्न आफ्नै जग्गा चाहिन्छ भन्ने छैन, भाडामा लिएको जग्गाबाट पनि पर्याप्त आम्दानी गर्न सकिन्छ भनेर यहाँका एक कृषकले उदाहरण दिनुभएको छ । पोखरा महानगरपालिका-३१ नहर छेउ देउराली खोलास्थित भाडामा लिएको नौ रोपनी जग्गामा गरेको व्यावसायिक तरकारी खेतीबाट प्रशस्त आयआर्जन गर्न सफल कृषक गोविन्द बास्तोला यतिखेर सबैका लागि अनुकरणीय बन्नु भएको हो ।

पोखरा-२८ स्याङ्खुदी टारीको पैत्रिकसम्पत्ति भिरालो पाखोबाट तरकारीखेती सुरु गरेर अनुभव बटुलेका बास्तोला अवसर खोज्दै पाँच वर्षअघि बेगनास तालको नजिक समथर र उर्वरभूमिमा परिवारसहित झरेका हुन् । “जीविकोपार्जनको आधार तरकारी थियो गाउँमा उत्पादन गरेको तरकारी बिक्रीका लागि डोकोमा बोकेर डुलाउँदा साह्रै दुः ख थियो”, ६२ वर्षीय कृषक बास्तोलाले भन्नुभयो, “फाँटमा झरेपछि उत्पादन गरेको तरकारी खरिद गर्न व्यापारी बारीमै आउने गरेका छन् । शरीरले सुख पाउनुका साथै समयको समेत बचत भएको छ ।” 

मौसमी तथा बेमौसमी तरकारीखेती गरिरहेको भन्दै चार रोपनी क्षेत्रफलमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती फस्टाएको बास्तोलाले बताउनुभयो । बन्दा दैनिक दुई सय केजी बिक्री हुँदै आएको उहाँले राससलाई जानकारी दिनुभयो । सुरुका दिनमा प्रतिकेजी बन्दा ५० मा बिक्री गरे पनि पछिल्लो समय ३० मा बिक्री गर्दै आएको बताउँदै कृषक बास्तोलाले बताउनुभयो । करिब १५ क्विन्टल बेच्दा ५० हजार आम्दानी भएको उहाँको भनाइ थियो ।

यस वर्ष तीन हजार पाँचसय क्विन्टल उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । “बन्दा सकिएपछि काउलीले उत्पादन दिन थाल्छ । यस सिजनमा बन्दा, काउली र ब्रोकाउलीका बिरुवा बिक्री गरेर ३० हजार आम्दानी भएको छ”, उहाँले भन्नुभयो । बेमौसी तरकारी खेतीका लागि बारीमा १० वटा टनेल निर्माण गरिएको बताउँदै बास्तोलाकी श्रीमती चित्राकुमारी बास्तोलाले भन्नुभयो, “चिसो मौसम सुरु भएसँगै टनेलभित्र काँक्रा, घिरौँला, करेला, सिमीजस्ता लहरेबाली लगाउने तयारी भएको छ । धान काटेपछि खेतमा दुई सय ५० केजी आलुको बीउ रोपेका छौँ ।” 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न समयमा फलामको टनेल दुई र कच्ची टनेल पाँच निर्माण, असिना छेक्ने जाली, हातेट्र्याक्टर लगायतमा ५० प्रतिशतका दरले एक लाखभन्दा बढी अनुदान प्राप्त भएको उहाँले जानकारी दिनुभयो । खानेपानी र विद्युत छिमेकीको घरबाट उपयोग गर्दै आएको बास्तोलाले बताउनुभयो । तरकारीखेतीका लागि आवश्यक सिँचाइको पानी बेगनास नहरबाट मोटरको सहायताले तान्नदा खर्चिलो हुने गरेको बताउँदै उहाँले टनेललगायत आवश्यक संरचना तयार गर्दा अहिलेसम्म १३ लाख लगानी भएको जानकारी दिनुभयो ।  

“तरकारी लगाएर बचेको जग्गामा धानखेती गर्दा ५६ मुरी उत्पादन भएको थियो । परिवारलाई एक वर्षलाई खान पुग्ने मनसुली धान राखेर बढी मूल्य पर्ने १७ मुरी जेठोबुढो धान बिक्री गर्दा ९० हजार आम्दानी भएको छ”, बस्तोलाले भन्नुभयो, “उत्पादित पराल गोठमा रहेका गाईलाई पुग्दछ ।” बिहान सूर्योदयदेखि साँझ सूर्य अस्ताउने समयसम्म माटोमा खेल्ने यस परिवारले वार्षिक एक लाख अग्रिम जग्गाको भाडा तिरेर खाद्यान्न र तरकारी बिक्रीबाट वार्षिक चार लाख बचत हुने गरेको बास्तोला दम्पतीको भनाइ थियो । उहाँका अनुसार बिदाका समयमा छोरा बुहारीले सहयोग गर्दै आएका छन् । रासस