• १५ मंसिर २०८१, शनिबार

तनहुँको विकास निर्माणप्रति राष्ट्रपति पौडेलको चासो

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर ।

दमौली, पुस १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य विकासका योजना समयमा विशेष चासो व्यक्त गर्दै आउनुभएको छ । जसका कारणले गौरवको आयोजना तनहुँ हाइड्रोपावर, राष्ट्रिय योजनाहरू पृथ्वी राजमार्ग स्तरोन्नति, डुम्रे–बेँसीसहर सडक आयोजना, भानु मार्ग, बुद्धसिंह मार्गको काम तीव्र गतिमा अगाडि बढेको छ । राष्ट्रपति पौडेलकै विशेष चासोका कारण तनहुँ सभा हलको निर्माण सम्पन्न भई उद्घाटन समेत भइसकेको छ । 

त्यसैगरी, राष्ट्रपति पौडेल व्यास मार्ग, घुमाउनेको मोटरेबल पुल, देवघाट ठिंगुराको मोटरेबल पुल, गाईघाटको पुल, ५ सय फाँटदेखि सत्रसयसम्म मादी मस्र्यादी कोरिडोर, कालिमाटी कुन्छा मार्ग, सिंहपथ, कालिका मार्ग, क्यामिन मार्ग, दमौली शान्तिनगर मोटररेबल पुल, कलेस्ती मोटरेबल पुल निर्माणका लागि सम्बन्धित निकायलाई ताकेता गर्नुभएको छ । उहाँले सडक विभागसम्बद्ध अधिकारीहरूलाई बोलाएर छलफल गरी विकास निर्माणका कामलाई छिटोछरितो बनाउन आग्रह गर्दै आउनुभएको छ । गत असोज ६ गते व्यास नगरपालिका–३ बिपी वन बाटिका, दमौलीमा निर्माण गरिएको जिल्ला सभा हलको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राजनीतिमा हात नहाल्ने तर विकासबाट हात नझिक्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

सोही अनुरूप उहाँले तनहुँको विकास निर्माणका कामको प्रगतिका बारेमा सचिवालयबाट अनुगमन गराउने, जनप्रतिनिधिहरूलाई अनुगमन गराउने र सम्बन्धित निकायलाई घचघच्याउने काम निरन्तर गरेका कारणले विकास निर्माणका कामले तीव्रता पाएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । देवघाट ठिंगुराको मोटरेबल पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले देवघाट ठिंगुराको पुल अलपत्र अवस्थामा रहेको र राष्ट्रपति पौडेलको पहलमा अर्थ मन्त्रालयले थप बजेटको व्यवस्था गरेपछि फेरि निर्माण कार्य सुरु भएको बताउनुभयो । पौडेलले भन्नुभयाे, "यो पुल निर्माणमा एकदमै ढिलाइ भएपछि राष्ट्रपति ज्यूले चासो व्यक्त गरेपछि अहिले निर्माण कार्य तीव्र बनेको छ ।"

राष्ट्रपति पौडेलले आफ्नै पहलमा सुरुवात भएको केशवटार मार्ग, बुद्धसिंह मार्ग, व्यास मार्ग लगायतका सडकको स्तर उन्नतिका लागि चासो दिएका कारण ती सडक निर्माण अहिले तीव्र गतिमा भइरहेको बताइएको छ । 

व्यासको १०८ फिटको मूर्ति निर्माण, व्यास–पराशर पार्क लगायतको माध्यमबाट धार्मिक गन्तव्य बनाउने, राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घा र त्यस आसपासको क्षेत्रलाई साहित्यिक तीर्थधाम बनाउने तथा राष्ट्रिय एकताको केन्द्र बनाउने कामलाई पनि राष्ट्रपति पौडेलले अग्रसरता लिएको भानु नगरपालिकाका अध्यक्ष आनन्दराज त्रिपाठीले बताउनुभयो । त्रिपाठीले भन्नुभयो, "आदिको काममा ढिलाइ भएकोबारे राष्ट्रपतिसमक्ष जानकारी गराएका थियौ । राष्ट्रपतिज्यूले विकासका बारेमा चासो राखी प्रगतिबारे जानकारी लिने गर्नुभएको छ ।"

त्यस्तै, देवघाट गाउँपालिकामा अत्याधुनिक वृद्धाश्रम निर्माणमा पनि लागि राष्ट्रपति पौडेलले पहल थाल्नुभएको छ । तातोपानी र लिफ्ट सहितको वृद्धाश्रम निर्माणका लागि जग्गा खोजी कार्य भइरहेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तीलबहादुर थापाकाले वृद्धाश्रम बनाउने विषय राष्ट्रपति पौडेल आफैले अग्रसर भएर थाल्नुभएको हो ।  

तनहुँमा राष्ट्रपति पौडेलकै पहलमा शुक्लागण्डकी नगरपालिकामा निर्माण भएको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको स्तर उन्नति, तल्लो तनहुँ जलविद्युत आयोजना काम अगाडी बढाउनका लागि पनि राष्ट्रपति पौडेलले चासो राख्दै सम्बन्धित अधिकारीहरूसँग छलफल गरिरहनुभएको छ । राष्ट्रपति पौडेलले तनहुँमा निर्माणाधीन रहेका अन्य पुल तथा बाटोको काम समयमा नै सम्पन्न गर्नका लागि सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएर दबाब दिइरहनुभएको छ ।