• १३ मंसिर २०८१, बिहिबार

गुल्मीमा किवी खेती

blog

तिलाचन पाण्डे

तम्घास, पुस १४ गते । गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रेसुङ्गा र धुर्कोटमा गरी ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

पछिल्लो समयमा किवी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । प्रतिकेजी २५० देखि तीन सय रुपियाँसम्ममा कृषकले बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

४८ हेक्टर क्षेत्रफलमा किवीका बिरुवा लगाइको छ । २० हेक्टरमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञान केन्द्रले जनाएको छ । २०६४ सालमा भार्सेका कृषकले सङ्खुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरुवात भएको मानिन्छ । 

रेसुङ्गा नगरपालिका–९ का कृषक वीरबहादुर कार्कीले किवी खेती गर्दै आउनुभएको छ । कार्कीले २०७२ सालदेखि किवी खेती गर्न सुरु गर्नुभएको हो भने २०७५ सालदेखि किवीले उत्पादन दिन थालेको छ । कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा किवी प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा ७५ प्रतिशत अनुदानमा बिरुवा र पोल निर्माण गर्ने गरेको छ । किवी खेती गर्दा बलियो पोल निर्माण गर्नुपर्ने भएकाले यसमा अलि खर्च हुने गर्दछ । 

यस वर्ष किवी विशेष कार्यक्रम भनेर कालीगण्डकी गाउँपालिका–१ को शिरकोट भन्ने स्थानमा जिल्लाकै नमुना किवी खेती विस्तार हुने भएको छ । त्यसका लागि कृषि ज्ञान केन्द्र गुल्मीले २८ लाख रुपियाँ विनियोजन गरेको छ ।