जानु पाण्डे
कपिलवस्तु, पुस १३ गते। लुम्बिनी प्रदेशमा उद्योग तथा यातायातमन्त्री सरोज थापाले उद्योगीका समस्या समाधान गर्ने बताउनुभएको छ। आठौँ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव २०८० को समुद्घाटन गर्दै मन्त्री थापाले आर्थिक अवस्था चलायमान नहुँदा उद्योगीलाई समस्या भएको बताउँदै उद्योग सञ्चालन हुने अवस्था ल्याउन र बैंक कर्जाका समस्या समाधान गर्नका लागि उद्योगीसँग छलफल गर्ने बताउनुभयो।
सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय नहुँदा जिल्लावासीलाई समस्या भएको बताउनुभयो। कपिलवस्तु जिल्लाको पश्चिमी भेगमा विकासको प्रचुर सम्भावना भए पनि सिंचाई र पूर्वाधार विकासको पहुँच न्यून रहेको केसीले बताउनुभयो।
उद्घाटन सभामा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अली, प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, व्यापार संघका केन्द्रीय सदस्य महादेव पोख्रेलले महोत्सवले चन्द्रौटा–कृष्णनगर औद्योगिक क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो।
विकासको पूर्वाधार आन्तरिक उत्पादन उद्योग र व्यापार भन्ने मूल नाराका साथ शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने मुख्य उद्देश्य आयोजक संस्था चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले बताउनुभयो। पुस २४ गतेसम्म चल्ने महोत्सवले स्थानीय कलकारखाना, घरेलु तथा साना उद्योग, व्यवसायसँगै स्थानीय पर्यटन विकासमा जोड दिने छ संघका महासचिव राजकुमार क्षेत्रीले बताउनुभयो।