काठमाडौँ, पुस १३ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताउनुभएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अराजकता नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउँदै त्यसका निम्ति आवश्यक पहलकदमी लिएको उल्लेख गर्नुभयो ।
ललितपुरको बालकुमारीमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसवार गाडीमाथि भएको आगजनी र त्यसमा परी एक जनाको मृत्यु भएपछि सरकारका प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएकी मन्त्री शर्माले कसैले पनि अराजकतालाई प्रश्रय दिन नहुनेमा जोड दिनुभयो । “जे घटना भयो, त्यो दुःखद् भयो, आफ्ना असन्तुष्टि शान्तिपूर्वक प्रस्तुत गर्न पाइन्छ, सरकारप्रति असन्तुष्टि अभिव्यक्त गर्न पनि पाइन्छ, तर हिंसात्मक गतिविधि मान्य हुँदैन,” मन्त्री शर्माले भन्नुभयो । रासस