• १४ मंसिर २०८१, शुक्रबार

रुपन्देही प्रहरीको 'क्लिन स्विप अप्रेशन'

blog

प्रहरीले पक्राउ गरेका अभियुक्तहरु जिल्ला प्रहरी कार्यालयमा । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, पुस १३ गते । रुपन्देही प्रहरीले अपराध नियन्त्रणका लागि सञ्चालन गरेको ‘क्लिन स्विप अप्रेशन’ अभियानबाट अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । चोरी, लागु औषध प्रयोग तथा ओसारपसारकर्ता र फरार प्रतिवादीहरुलाई प्रहरीले केही दिनयता लगातार पक्राउ गरेको हो ।

२४ सै घण्टा जिल्लाभर रहेका कार्यालयबाट छुट्टाछुट्टै प्रहरी टोली ‘क्लिन स्विप अप्रेशन’मा खटिएका छन् । यसरी खटिने प्रहरी टोलीले पराधिक तथा कानुनले बन्देज गरेका गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिने गरेको छ । 

पुस १ गतेदेखि रुपन्देही प्रहरीले ‘क्लिन स्विप अप्रेशन’ सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले अभियान सुरु गरेको डेढ सातामै कैयौं चोरीका मोटरसाइकल, त्यसमा संलग्न मानिस, फरार प्रतिवादी र लागूऔषध ओसारपसार र प्रयोगकर्तालाई नियन्त्रणमा लिएको बताउनुभयो । उहाँका अनुसार यो बिचमा चोरीका २३ वटा मोटरसाइकल बरामद गरिएको छ भने त्यसमा संलग्न आठ जना मानिस प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु विरुद्ध चोरीसम्बन्धी चार वटा मुद्दा अदालतमा दर्ता भएका छन् । प्रहरीले रोयल इनफिल्ड–दुई, बजाज पल्सर १५० सिसीको एक, हिरो स्पेलेन्डर प्लेस ६, बजाज पल्सर २२० सीसीको तीन, यामाहा एफजेड एक गरी विभिन्न ब्राण्ड र मोडलका २३ मोटरसाइकल बरामद गरिएको जनाएको छ ।

"मोटरसाइकल चोरी गरी कतिपय भारततर्फ विक्री गर्ने र केही नेपालमै विक्री गर्ने गरिएको छ । भारतमा चोरी गरेर नेपालतर्फ ल्याएर प्रयोग गरेको पनि पाइएको छ", एसपी विकले भन्नुभयो, "चोरीमा संलग्न केही पेसेबर छन् भने कतिपय चोरीको मोटरसाइकल सस्तोमा पाउँदा खरिद गर्नेहरु छन् ।" 

उहाँले भन्नुभयो, "हामीले चोरी गर्ने, खरिद गर्ने दुबैतर्फका व्यक्तिलाई पक्राउ गरेर कानुन अनुसार कारबाही गर्छौं ।" एसपी बिकले अब अभियानका क्रममा प्रहरीले चोरीका मोटरसाइकल घरमै गएर मानिस र मोटरसाइकल पक्राउ गरेर ल्याउने बताउनुभयो । उहाँले प्रहरी नियमित रुपमा कानुन विपरीतका गतिविधि नियन्त्रण गर्न लागि परे पनि अभियान सुरु पछि गलत गर्नेहरु बढी मात्रामा पक्राउ परेको बताउनुभयो । 

यस्तै, अभियानकै क्रममा प्रहरीले एउटै इन्जिन नम्बर भएका दुई वटा कार नियन्त्रणमा लिएर पनि अनुसन्धान सुरु गरेको छ । प्रहरीले अभियानका क्रममा ४३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर, ६ एम्पुल डाइजेजाम, ६८ एम्पुल फेनार्गन, ८ एम्पुल तालजेसिक, ५९ एम्पुल सेरिज्याक, आईपीपीएल ६० एम्पुल, प्रोक्सीको स्पास १६ क्याप्सुल बरामद गरेको छ । उक्त लागु औषध प्रयोग र ओसारपसारमा संलग्न नौ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । लागु औषधका सात वटा मुद्दा जिल्ला अदालतमा दर्ता गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रहरीले एक सय दुई जना फरार प्रतिवादी तथा अदालतबाट सजाय तोकिएका व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका मानिसहरुलाई कारागार चलान गरिएको छ । उनीहरुबाट १९ वर्ष ११ महिना १७ दिन कैद भुक्तान र १२ लाख ८२ हजार ७११ रुपियाँ जरिवाना असुलउपर हुने प्रहरीले जनाएको छ । 

"कतिपय अवस्थामा साथीभाइको लहलहै र परिवारको बेवास्ताका कारण युवापुस्ता लागु औषध ओसारपसार तथा प्रयोग र चोरी जस्ता गलत क्रियाकलापमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ", एसपी विकले भन्नुभयो, "यसका लागि घरपरिवारले आफ्ना छोराछोरीको गतिविधि नियाली गलत बाटोमा जानबाट रोक्नुतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।"