• २६ पुस २०८१, शुक्रबार

मेट्रिक घर नम्बर प्रणाली सुरु

blog

घर नम्बर प्लेट राखेर मेट्रिक घर नम्बर प्रणाली अभियानको सुरुवात गर्नुृहुँदै नगरप्रमुख प्रशान्त विष्टलगायत । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, पुस १३ गते । नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ । बिहीबार नेपालगन्ज उपमहानगरपालिका १२ विपी चोकमा ‘विपी मार्ग’ 'रोड नेम प्लेट'को उद्घाटन गर्दै नगरप्रमुख प्रशान्त विष्टले मेट्रिक घर नम्बर प्रणाली सुरु गर्नुभएको हो । 

'रोड नेम प्लेट'को उद्घाटनपछि नगर प्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुवात गर्नुभएको थियो । पहिलो चरणमा वडा नम्बर १२ का ५० वटा घरमा स्याम्प्लिङका रुपमा नम्बर प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले बताउनुभयो । पहिलो चरणमा स्याम्प्लिङका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको बताउँदै दासले १ देखि २३ नम्बर वडाका सबै घरलाई मेट्रिक घर नम्बर प्रणाली जोड्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा वडा नम्बर १ का लागि दश लाख बजेट विनियोजन गरिएको छ ।

यो प्रणालीमा मूल सडकको मुख्य बिन्दुदेखि मिटर (दूरी)का हिसाबले घरमा नम्बरिङ् गरिन्छ । मूल सडकको मुख्य बिन्दुदेखि जति दूरी (मिटर)मा घर अवस्थित छ, त्यत्ति नै नम्बर उक्त घरलाई दिइन्छ । मुख्य बिन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर बिजोर नम्बर राखिने दासले जानकारी दिनुभयो । उहाँका अनुसार मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बरलगायत सामाजिक-आर्थिक तथ्याङ्क प्रविष्ट गरिएको हुन्छ । 

"स्याम्प्लिङका रुपमा जिआइजेडले हामीलाई उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपछि दोस्रो चरणमा नम्बर प्लेट राख्छौं," इन्जिनियर दासले भन्नुभयो, "यो प्रणाली सुरु भएपछि नागरिक (सेवाग्राही)को घर–घर जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ ।"

नेपालगन्जमा पहिलो चरणमा दश ठाउँमा 'रोड नेम प्लेट' राखिनेछ । हाललाई कौशल्या मार्ग, बिपी मार्ग, इदगाहा मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शीतलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड नामका रोड नेम प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नगरप्रमुख विष्टले नगरलाई प्रविधिमैत्री बनाउने अभियानमा लागिपरेको बताउँदै नागरिक-स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागु गरिएको उल्लेख गर्नुभयो । नगरको एकिकृत दिगो विकास र समृद्धिका लागि उपमहानगरपालिकाले थुप्रै योजना अघि सारेको भन्दै विष्टले प्रविधिको उच्चतम प्रयोग गरेर अघि बढ्ने बताउनुभयो ।

उपप्रमुख राईले यसबाट हरेक घरको जानकारी उपमहानगरपालिकालाई हुने हुँदा सहज हुने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १२ का वडाध्यक्ष तरुणकुमार वज्राचार्य, वडा नम्बर ८ का वडाध्यक्ष रजनीश बाजपेई (विवेक), इन्जिनियर दासलगायत उपस्थित हुनुहुन्थ्यो ।