• १४ मंसिर २०८१, शुक्रबार

नेपालगञ्जका विभिन्न धार्मिक स्थलमा सुरक्षाकर्मीले गरे सफाइ

blog

जानकी (बाँके),  पुस १३ गते ।  नेपालगञ्जमा रहेका विभिन्न धार्मिक स्थलहरुको सरसफाइ गरिएको छ । आज बिहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिक स्थल वरपर सरसफाइ गरेका हुन् । 

‘सर्वधर्म स्थान, सरसफाइ अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्चलगायत यहाँका विभिन्न धार्मिकस्थल सफाइ गरेका हुन् । 

सरसफाइ अभियानमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सदभावलाई जीवन्त राख्नका लागि सामूहिक सरसफाइ अभियानको शुरुवात गरिएको बताउनुभयो । “नेपालगञ्ज भन्नका लागि मात्रै सदभावको सहर भनिएको होइन । यहाँ एकले अर्काको धर्मलाई सम्मान गर्ने परम्परा रहेको र त्यही परम्परालाई जीवन्त राख्नका लागि सामूहिक सरसफाइ अभियानको शुरुवात गरेका हौँ”, उहाँले भन्नुभयो । 

सो अवसरमा राँझाको इमामनगर ब्यारेकस्थित श्री बज्रदलको गणमा कार्यरत नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलगायतका कर्मचारीहरुले सामूहिक रुपमा सरसफाइ गरेका थिए । रासस