काठमाडौँ पुस १३ गते । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुनर्संरचनासहित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले ओएनएम स्वीकृत गर्दै ६८ दरबन्दी घटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । हाल प्रधानमन्त्री कार्यालयमा २३४ जना कर्मचारी कार्यरत छन् ।
“प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पुनर्संरचना प्रधानमन्त्री कार्यालयबाटै सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोहीबमोजिम ६८ जनाको दरबन्दी कटौती भएका छन्,” मन्त्री शर्माले भन्नुभयो, “अब कस्ता दरबन्दी राख्ने कस्ता नराख्ने भन्ने मापदण्ड बनाइएको छ । कुन कुन दरबन्दी कसरी व्यवस्थापन गर्ने फाइनल लिस्ट आएको छैन ।” प्रधानमन्त्री कार्यालय पुनर्संरचना भएमा चुस्तदुरुस्त र कार्यात्मक हुने उहाँले बताउनुभयो ।
तर, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायण भट्टले प्रधानमन्त्री कार्यालयलाई पुनर्संरचना गर्ने भनेर प्रतिवेदन मन्त्रीपरिषद्मा पेस भएकाले सबै विषय भन्न नमिल्ने जिकिर गर्नुभयो । मन्त्रीपरिषद्बाट निर्णय भई बाहिर आएपछि प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबारे भन्न सकिने उहाँले बताउनुभयो ।
यसै गरी सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६५० रुपियाँ निर्धारण गर्ने निर्णय गरेको छ । गत वर्ष गहुँको समर्थन मूल्य तीन हजार १६५ रुपियाँ तोकेको थियो । यस्तै मन्त्री शर्माले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्यसचिवमा महेश भट्टराई नियुक्त गरेको जानकारी दिनुभयो ।