• ८ असार २०८१, शनिबार

दोलखा महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

blog

महोत्सवको तयारीमा सजावट गरिएको स्थल । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, पुस १२ गते । दोलखा महोत्सवको तयारी पूरा भएको छ । दोलखा उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रङ्गशालामा १० दिने वृहत् दोलखा महोत्सवको तयारी गरिएको आयोजकले जनाएको छ।

महोत्सवको उद्घाटन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुने उद्योग वाणिज्य सङ्घ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको पूर्व तयारीस्वरुप चरीकोट बजार सजाइएको छ । चरीकोट बजारमा तुल, ब्यानर, स्वागतद्वार तथा ध्वजापताकाले रङ्गिन बनाइएको छ । उद्योग वाणिज्य सङ्घले बजारलाई सजावट गर्ने काम सम्पन्न गरेको उहाँले बताउनुभयो । महोत्सवमा १५० वटा स्टल राखिने जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवर्धन गरिने उहाँको भनाइ छ ।

स्टलमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, सङ्घ संस्था, उद्योगी व्यवसायीका उत्पादनलगायत प्रदर्शनीमा राखिने पनि उहाँले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन पर्यटकका स्वागतका लागि स्ट्रिट फुड फेस्टिभलको आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा दोलखाका पर्यटकीय स्थलको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने बताइएको छ ।

महोत्सवको उद्घाटन सत्रमा जातीय तथा पेसागत भेषभुषासहित झाँकी सातदोबाटो चोकदेखि महोत्सवको स्थलसम्म नौमती, लामाबाजा दोलखे भजन ब्यानरलगायत विभिन्न कार्यक्रम रहेको आयोजकले जनाएको छ । दोलखालाई लगानीमैत्री जिल्लाका रूपमा विकास गर्ने यस सङ्घको उद्देश्य रहेको छ। पर्यटन, कला संस्कृति, जलस्रोत तथा कृषि क्षेत्रमा धनी दोलखाको आर्थिक विकास र पर्यटन प्रवर्धनका लागि आयोजना हुन लागिरहेको महोत्सव सफल पार्न र दोलखाका चरिकोट बजार, जिरी र पर्यटकीय स्थलहरू दोलखा भीमेश्वर, कालिञ्चोक भगवती, शैलुङ, च्छोरोल्पा हिमताल, विगु गुम्बा, रोल्वालिङ उपत्यका, हनुमन्तेडाँडा, चेर्दुङलगायतलाई थप प्रचार प्रसारमा सहयोग गर्न सबै समक्ष उद्योग वाणिज्य सङ्घ दोलखाले आग्रह गरेको छ।

कार्यक्रमस्थलमा दिनभरका कार्यक्रम तय भएका छन् । विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ महोत्सवमा आउने आगन्तुकलाई स्वागत गरिने महोत्सव मूल आयोजक समितिले जनाएको छ । महोत्सवको पूर्व तयारीमा बजार सरसफाइ, रक्तदान, अनाथ बालबालिकालाई सहयोगलगायत विभिन्न सामाजिक कार्यहरू गरिएको छ । 

साङ्गीतिक मनोरञ्जनका लागि कलाकार मिलन नेवार, राजनराज शिवाकोटी, विश्वधुङ एलिना चौहान, हरिबहादुर राउत, प्रीति आले, ज्योति मगर, नवराज घोरासैनी, रमेश प्रसाईँ, प्रताप दास, रमेशराज भट्टराई, हरिबहादुर राउतलगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।