• १४ मंसिर २०८१, शुक्रबार

सहमतिपछि अस्पतालको तनाव साम्य

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस ११ गते। झापाको मनमोहन अस्पताल बिर्तामोडमा सोमबार बेलुकादेखि सुरु भएको तनाव मंगलबार अबेर साम्य भएको छ। एक बिरामीको मृत्यु भएपश्चात् बिरामीका परिवारले अस्पताल तोडफोड र घेराउ गरेका थिए। 

सोमबार बिहान खुट्टा सुन्निएर उपचारका लागि बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी नर्वदा बाँस्कोटा अस्पतालमा भर्ना भए पनि आठ घण्टासम्म कुनै उपचार नभएको र बिरामीको मृत्यु भएको आरोप लगाइएको छ। मृतकका आफन्त तथा परिवारले शव बुझ्न इन्कार गर्दै तोडफोडमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको थियो।

सोमबार बेलुकादेखि मंगलबार अबेरसम्म अस्पतालमा प्रहरीले सुरक्षा दिएको बताइएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडमा मंगलबार दिनभर अस्पताल प्रशासन र मृतकका आफन्तबिच छलफलपछि विवाद साम्य भएको हो।

पीडित परिवार तथा आफन्तले दुई जना बच्चाको शिक्षा र भरणपोषण अस्पतालले व्यवहोर्नुपर्ने सर्त राखेर अस्पताल घेराउ गरेको थिए। घटनाको विषयमा निष्पक्ष छानबिन र मृतक परिवारलाई भरणपोषणका लागि अस्पतालले प्रतिबद्धता जनाएपछि विवाद साम्य भएको अस्पताल श्रोतको भनाइ छ।

अस्पतालका कार्यकारी प्रमुख रोमणि भट्टराईका अनुसार बिरामीको मृत्युको घटनाको विषयमा निष्पक्ष छानबिन गर्ने सहमति भएको छ।