विष्णुप्रसाद पोखरेल
दमक, पुस ११ गते । झापामा पहिलो पटक व्यावसायिक रूपमा सौर्य ऊर्जा उत्पादनको परीक्षण सुरु गरिएको छ । झापा इनर्जी कम्पनी लिमिटेडले १० मेगावाट क्षमताको ऊर्जा मङ्गलबार साँझदेखि उत्पादन परीक्षण सुरु गरेको हो ।
यसबाट वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ । शिवसताक्षी नगरपालिका-४ मा रहेको परियोजनाबाट उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणको बुलोचोक शव स्टेसनमा जडान गरेर परीक्षण सुरु गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायण प्रसाद पोखरेलले बताउनुभएको छ । मङ्गलबार साँझ ६ बजे शव स्टेसनमा जडान गरिएको परीक्षण सफल बनेको छ ।
लगातार १५ दिनसम्म परीक्षणकालीन उत्पादन हुने र त्यसपछि व्यावसायिक रूपमा नै उत्पादन हुने पोखरेलले जनाउनुभयो । १५ दिनपछि विद्युत प्राधिकरणले खरिद सम्झौता अनुसार खरिद गर्ने उहाँले बताउनुभयो । "१५ दिन परीक्षण अवधिको विद्युत निःशुल्क हुनेछ", पोखरेलले भन्नुभयो ।
नेपाल विद्युत प्राधिकरण र झापा इनर्जीबिच खरिदका लागि यसअघि नै सम्झौता भइसकेकाले उत्पादित ऊर्जाबाट १५ दिनपछि नै आम्दानी दिन सुरु गर्नेछ । प्रतियुनिट ७ रुपियाँ ३० पैसाका दरले विद्युत प्राधिकरणसँग खरिद सम्झौता भएको जनाइएको छ । प्राधिकरणसँग २०७८ मङ्सिर १२ मा विद्युत खरिदको सम्झौता भएको झापा इनर्जीले जनाएको छ।
माछापुच्छ्रे र सिभिल बैङ्कको ७५ प्रतिशत र जनताको २५ प्रतिशत गरेर ८१ करोडको लगानीमा यो ऊर्जा परियोजना सञ्चालनमा आएको हो । परियोजना स्थलबाट नेपाल विद्युत प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटरको दुरीमा रहेको छ । "उत्पादित सौर्य विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि झापा इनर्जी आफैँले ९६० मिटर प्रसारण लाइन बनाएका छौँ", पोखरेलले जनाउनुभयो ।
‘सुखी नेपाल, समृद्ध नेपाल निर्माण’ अभियानमा योगदान पुर्याउने उद्देश्यले लामो छलफलपछि काठमाडौँ लगायत विभिन्न क्षेत्र र विदेशबाट समेत बसोबास गर्दै आएका झापावासीले केही आयोजनामा सामूहिक रूपमा काम गर्ने संयुक्त पहल अनुसार यो परियोजना सफल बनेको यसका अगुवाइ गर्नुभएका प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुले बताउनुभयो ।
आयोजनालाई ऊर्जा उत्पादन सहित थप प्रभावकारी बनाउन कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजनाहरू अगाडी बढाइने आफूहरूको परिकल्पना रहेको लिम्बुले जनाउनु भएको छ । फूलबारी, मत्स्यपालन, रिसोर्ट, खेलकुद मैदान लगायतका योजनाहरू पनि अब सुरु हुने उहाँको भनाइ छ ।