• १४ मंसिर २०८१, शुक्रबार

श्रम जनशक्ति र रोजगारदातालाई जोड्ने एप सञ्चालनमा

blog

शशिधर पराजुली

विराटनगर, पुस ११ गते । कोशी प्रदेश सरकारले रोजगारको खोजीमा रहेका युवा र रोजगारदातालाई एकै ठाउँमा जोड्ने गरी तयार पारिएको श्रम बजार सूचना प्रणाली आइतबारबाट सञ्चालनमा ल्याएको छ । 

मोबाइल एपमा समेत विकास गरिएको सूचना प्रणालीमा रोजगारको खोजीमा रहेकाहरूले आफ्नो दक्षता सहितको विवरण उपलब्ध गराउने र रोजगारदाताहरूले आवश्यकता अनुरूप श्रमिकहरू छान्न सक्नेगरी तयार पारिएको श्रम बजार सूचना प्रणाली ‘श्रम संसार’ सञ्चालनमा ल्याएको हो । 

सामाजिक विकास मन्त्रालयको श्रम सूचना केन्द्र मातहतमा रहने गरी सञ्चालनमा ल्याएको एपको बुधबार एक कार्यक्रमबिच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुभारम्भ गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रमको सम्मान गर्नसके मात्र देशको विकास हुने बताउनुभयो । "हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छन् । आफूले गर्ने काम जानेका हुन्छन्, श्रममा ठुलो सानो भन्ने हुँदैन, त्यस कारण श्रमको सम्मान गर्न जरुरी छ," मुख्यमन्त्री कार्कीले भन्नुभयो । 

मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार फलदायी हुने बताउनुभयो । "अब यस क्षेत्रमा कसैले पनि काम गर्ने मान्छे रोजेर पाउने भएका छन्," उहाँले भन्नुभयो, "यसले हाम्रो श्रम बजारलाईसमेत व्यवस्थित गर्दछ ।"

मुख्यमन्त्री कार्कीले श्रम बजारलाई व्यवस्थित बनाउँदै प्रदेश सरकारले यसको पहुँच वृद्धि गर्ने जानकारी दिनुभयो । श्रम संसार वेब पोर्टलमा सीप विकासका क्रियाशील विभिन्न सङ्घ संस्थाहरू, रोजगारदाता संस्थाहरू, रोजगारको खोजी गर्ने व्यक्तिहरू सबै दर्ता हुने व्यवस्था गरिएको छ । 

पहिलो चरणमा विराटनगर महानगरपालिका, सुनसरीको दुहबी नगरपालिका र इटहरी नगरपालिका यस सूचना प्रणालीमा आबद्ध भएका छन् । यसलाई थप पालिकाहरू आबद्ध गराउँदै बृहत् पहुँचमा लगिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयले स्विस कनट्याक्ट साथै आस्मान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना अन्तरगत यो प्रणाली सञ्चालनमा ल्याएको हो । यसअघि तीन स्थानीय तहबिच समझदारी बनाएर साझेदारीमा अगाडी बढेको यो प्रणाली अब प्रदेश मातहतमा आएको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत रिता खतिवडाले जानकारी दिनुभयो । 

स्विस कनट्याक्ट प्रोजेक्ट अफिसर सागर चापागाईँले काम खोज्न र रोज्नका लागि निःशुल्क माध्यमको रूपमा यसलाई विकास गरिएको र यसका डाटाहरू सुरक्षित रहेको जानकारी दिनुभयो । 

एप्सबाट बेरोजगार युवाहरूलाई रोजगारीमा समेट्नका साथै स्थानीय स्तरमा हुने तालिमका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने छ । अहिलेसम्म यो प्रणालीमा ३४ सय बढी संस्था तथा व्यक्ती दर्ता भइसकेका छन् भने तीन सय बढीले रोजगारीका लागि आवेदन दिएकोमा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ । 

कार्यक्रममा कार्यगत एकता तथा सहकार्यका लागि कोशी प्रदेश सरकार स्विस कनट्याक्ट र आसमान नेपाल बिच त्रिपक्षीय हस्ताक्षर समेत भएको छ ।