काठमाडौं, पुस ११ गते । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताउनुभएको छ ।
पार्टीको नवौँ महाधिवेशनमा ७० वर्षे उमेरहद राखिए पनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाइ थियो । बुधबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्नुहुँदै उहाँले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबी समेत गर्नुभयो ।
‘‘अस्तिको छैटौँ केन्द्रीय कमिटी बैठकमा मैले एउटा सानो-सानो सर्भे गरेको थिए । तपाई हामी नै ७२ परर्सेन्टनै ६० वर्ष माथिका रहेछौँ । हामी पनि बुढाखाडा हुन अव धेरै रहेनछ । त्यसो हुनाले युवाहरूलाई हामीले व्यापक रूपमा अगाडि ल्याउनु पर्छ भन्ने प्रश्न यो तथ्याङ्कले नै बताइहाल्यो । त्यसो हुनाले अव युवाहरूलाई हामीले प्रोत्साहित गर्नुपर्छ । सामान्य रूपमा ४० प्रतिशतसम्म गरौँ भन्ने त आइसकेको छ है । त्यो भन्दा पनि अझै बढी गरौँ भन्ने पनि छ ।,’’ सम्मानित नेता खनालले भन्नुभयो, ‘‘तपाईँहरूका सुझावहरू यसमा पनि आउनुपर्छ । त्यसै गरेर अब यो उमेरहदको कुरा । यो कुरा हामी नवौँ महाधिवेशनतिर राखेका थियौँ ७० वर्ष । उमेरहद चाहिँ राख्यौँ तर त्यो भन्दा तलतिरको नेता चाहिँ जन्माउन सकिएन । यो दुःखद कुरा छ ।’’
सम्मानित नेता खनालले उमेरहद राख्ने तर विचारवान नेताहरू जन्माउन नसकिएको पनि स्मरण गराउनुभयो । उहाँले आगामी महाधिवेशनमा पार्टीमा युवाहरूको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यो महाधिवेशनले पनि युवाहरूलाई व्यापक रूपमा ल्याउनुपर्ने आवश्यकता त यसै पनि छदै छ । अब यो उमेरहदकै कुरा चाहिँ के होला भन्ने बारेमा यसै हेर्दाखेरी यसको सान्दर्भिकता नै देखिँदैन । यसको सन्दर्भ नै हराइसक्यो । यसलाई लागू पनि गरिएन, केही पनि गरिएन । यसमा पनि कमरेडहरूले सुझाव दिनुपर्यो ।’’
सम्मानित नेता खनालले पार्टी कमिटीका आकारहरू पनि घटाउनुपर्ने प्रस्ताव गर्नुभयो । ठुलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले यसको आकार कटौती गर्न आवश्यक रहेको उहाँको तर्क थियो ।