• १९ जेठ २०८१, शनिबार

प्रधानमन्त्री कप : कोशीले गण्डकीलाई हरायो

blog

विजेता कोशीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, पुस ११ गते । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्लेअफ पुग्ने सम्भावना बढाएको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ५५ रनले हरायो । जितको लागि एक सय चार रनको मध्यम लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा सबै विकेटको क्षतिमा ४८ रनमा समेटिएको थियो । 

गण्डकीकी सुमन खतिवडा अविजित २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा कोशीकी रुविना क्षेत्रीले तीन विकेट लिनुभयो । सङ्गीता राई र एलिसा खडियाले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो । कोशीकी बिमला मलहाले सर्वाधिक २५ रन बनाउनुभयो । लखिता राजवंशीले २२ र सङ्गीता राईले २३ रन जोड्नुभयो । 

बलिङमा गण्डकी प्रदेशकी कुसुम गोदार र सृष्टि जैशीले दुई दुई तथा आकृति तिवारी, रचना चौधरी र सुमन खतिवडाले एक एक विकेट लिनुभयो । जितसँगै कोशी पाँच खेलबाट आठ अङ्क जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट १० अङ्क बनाएको एपीएफ शीर्षस्थानमा छ । पराजित गण्डकी दुई अङ्कसहित छैटौँ स्थानमा छ ।