• १५ मंसिर २०८१, शनिबार

सहकारीबाट पाँच लाखभन्दा बढी रकम चोरी

blog

इमान सिं राना

रामपुर (पाल्पा), पुस ११ गते । पाल्पामा एक सहकारीबाट पाँच लाखभन्दा बढी रकम चोरी भएको छ । रामपुर नगरपालिका २ भलायटारस्थित ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा तोडफोड गरी चोरी भएको हो । 

बुधबार विहान कार्यालय खोल्ने क्रममा झ्याल तोड्नुका साथै भल्ट तथा टेबलका घर्राहरु तोडिएको अवस्थामा भेटिएको सहकारीका व्यवस्थापक प्रेम बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबारको कारोबारपछि भल्टमा राखिएको नगद पाँच लाख ४० हजार ४ सय ५५ रुपियाँ चोरी भएको हो । कार्यालयमा जडान गरिएको सिसिटीभी क्यामेराको हार्डडिक्स समेत फुकालेर लगेको पाइएको छ । 

सहकारीले हप्तामा आईतबार बाहेक ६ दिन सेवा प्रदान गर्दै आएको थियो । तीन दिनको बिदापछि कार्यालय खोल्ने क्रममा तोडफोड र चोरी भएको भेटिएको हो । चोरी कहिले भयो भन्ने अझै खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक शालिकराम खनालले चोरीको घटनाको सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।