• २८ वैशाख २०८२, आइतबार

हेटौँडामा सडक खाना महोत्सव हुने

blog

होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिका ४ मा हुने खाना महोत्सवको तयारी गरिँदै ।

राममणि दाहाल

हेटौँडा, पुस ११ गते । होटल एसोसियसन अफ मकवानपुरको आयोजनामा हेटौँडामा तीनदिने सडक खाना महोत्सव हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसनले हेटौँडा उपमहानगरपालिका ४ मा सडक खाना महोत्सव आयोजना गर्न लागेको हो ।

शुक्रबारदेखि तीन दिनसम्म खाना महोत्सव आयोजना गर्न लागेको होटल एसोसियसन अफ मकवानपुरका कार्यबाहक अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो । 

सडकमा जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ हुने महोत्सवमा खानाका विभिन्न परिकारसँगै स्थानीय कलाकारको प्रस्तुतिमा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिने काबा अध्यक्ष महर्जनले बताउनुभयो ।

उहाँका अनुसारमा महोत्सवमा ४० वटा स्टल रहनेछ । कोभिड १९ को सङ्क्रमणको जोखिम आर्थिक मन्दीलगायतका कारण महोत्सव २०७६ सालदेखि रोकिएको थियो । २०६५ सालदेखि सडक खाना महोत्सव आयोजना गर्दै आएको होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा हेटौँडामा हुने यो महोत्सव दशौँ संस्करण हो । 

मकवानपुरको आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सव हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्रचौरको पूर्वतर्फको सडकमा हुने भएको छ ।