• १३ असोज २०८१, आइतबार

सौराहामा हात्ती महोत्सव

blog

वसन्त पराजुली 

सौराहा पुस १० गते।  पर्यटकीय नगरी सौराहामा मगलबार सुरु भएको हात्ती महोत्सव अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्नुभएको छ।  

पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको सो महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले देशको पर्यटनले अहिले लय समातेको बताउनुभयो।  

“अहिलेसम्मकै धेरै पर्यटक भित्र्नु पर्यटन व्यवसायले लय समातेको संकेत हो”, उहाँले थप्नुभयो, “पूर्वाधारमा लगानी केन्द्रिकृत गरेर लाग्ने हो भने नयाँ पर्यटकीय सम्भावना क्षेत्र खुल्छन्।  यसको प्रवर्द्धनमा पनि राज्यको ध्यान पुग्ने छ।”

महोत्सव उद्घाटन अघि झाँकीसहितको र्याली निकालिएको थियो।  यसअघि बाघमारा सामुदायिक वनको चौरमा आयोजना हुने हात्ती महोत्सव यस वर्ष भने चित्रसारी नजिकैको चौरमा गरिएको छ।  

चितवनको पर्यटन विकास गर्ने उदेश्यका साथ महोत्सव आयोजना गरिएको हो।  महोत्सव पुस १४ गतेसम्म चल्ने छ।  विगतका वर्षमा हात्तीका गतिविधि र खेलकुदलाई समावेश गरेर आयोजना गरिने हात्ती महोत्सव यो वर्षदेखि  केही परिमार्जन गरेर मनाइएको हो।  

संघका अध्यक्ष गंगा गिरीका अनुसार महोत्सवको विशेष आर्कषण हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता लगायत छन्।  

यस अघि चार वर्ष अघि हात्ती महोत्सव आयोजना गरिएको थियो।  कोरोना महामारीले महोत्सव स्थगित हुँदै आएको भए पनि यो वर्ष भने निरन्तरता पाएको छ।